सशस्त्र माओवादी विद्रोह र वि.सं २०६२/६३ को आन्दोलनदेखि नै लोकतन्त्र र व्यवस्था परिवर्तनका क्रममा भएका विभिन्न आन्दोलनमा अग्रमोर्चामा होमिएका नेपाली काँग्रेसका युवा नेता नेता हुन् बाबुराम आचार्य । आन्दोलनकै क्रममा विभिन्न समयमा माओवादीको अपहरण तथा आक्रमणमा परेर समेत बाँचेका नेता आचार्यले आफ्नो पूरा जिन्दगी नै देश र जनताका लागि सुम्पिएका छन् । राजनीतिसँगै निरन्तर समाजसेवामा समेत सक्रिय रहेका उनी जनतालाई अप्ठेरो परेको बेला एम्बुलेन्स झैं हाजिर हुन्छन् । विद्यार्थी राजनीतिदेखि नै नेपाली काँग्रेससँग जोडिएका उनी शिक्षा, स्वास्थ्य बिना शर्त निःशुल्क बनाउपर्ने धारणा राख्छन् । नेता आचार्य राजनीतिलाई कमाई खाने भाँडो बनाउनु भन्दा जनताको सेवा गर्ने मूल्यवान चौतारी बनाउनुपर्ने तर्क दिने गर्दछन् । उनै आचार्यसँग हिमालय पोष्टले गरेको कुराकानीको सम्पादित अंशः : 


ADVERTISEMENT


पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?


ADVERTISEMENT

# # #


अहिले म दैनिक १८ घण्टा समाजसेवामा व्यस्त छु । जनताका समस्या बुझ्ने, ती समस्या समाधानका लागि प्रयास गर्ने कार्य भइरहेको छ । निरन्तर जनतासँगै छु ।

तपाईं विद्यार्थीकालदेखि नै राजनीतिमा प्रवेश गर्नुभएको व्यक्ति पनि हो । अहिलेको राजनीतिलाई नजिकबाट नियाल्नु पनि भएको होला । यसलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

राजनीतिलाई दुईवटा ध्रुवबाट हेर्न जरुरी छ, एउटा सकारात्मक अनि अर्को नकारात्मक । २००७ सालको प्रजातन्त्र प्राप्ती, २०३६ सालको जनमत संग्रह, २०४६/०४७ सालको आन्दोलन, २०६२/०६३ सालका परिवर्तनहरुबाट देशमा धेरै नै सकारात्मक परिवर्तनहरु भएका छन् । २०४६/०४७ सालपछि सूचना तथा संचार प्रविधिमा व्यापक परिवर्तन भएकोले यसलाई सकारात्मक रुपमा लिनुपर्छ भने भ्रष्टाचार नियन्त्रण हुनुको साटो झन बढेर जानु, बेरोजगारी समस्या समाधान हुन नसक्नु, महंगी बढ्नु, कृषि क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसक्नु, शिक्षा र स्वास्थ्य क्षेत्र निःशुल्क हुनुको साटो झनै महंगो हुनु जस्ता विषयहरुले देश विकासलाई प्रत्यक्ष नकारात्मक असर पारेको देखिन्छ । २०७२ सालको संविधानले स्थायित्वको रुप दिन खोजेको भए पनि त्यस्तो देखिन नसक्नु दुर्भाग्य हो ।

लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा हुनुहुन्छ । तर, कहिल्यै पनि तपाईंले जिम्मेवारी पाएको देखिँदैन नि ?

म काँग्रेस हुँ, वीपी काईरालाको समाजबावादको विचारलाई आत्मासाथ गरेर काँग्रेसले अगाडि बढ्नुपर्छ भन्ने कुरामा विश्वास गर्छु, विश्वभरका काँग्रेस नेता कार्यकर्ता शुभचिन्तक, सर्बर्वसाधारण नागरिकहरुलाई समेटेर पार्टीलाई बलियो बनाउने भूमिका खेल्न सक्ने कुरामा म विश्वस्त छु । चाकरी–चाप्लुसी गर्न भने म सक्दिनँ, अरुलाई पनि चाकरिरी–चाप्लुससी नगर्न म अनुरोध गर्दछु । कसैले मेरो चाकरी पनि नगरोस्, कसैको चाकरी पनि म गर्दिन भन्ने मूल्य मान्यता म राख्दछु । म काँग्रेसलाई बलियो बनाउन मूख्य भूमिका खेल्ने भातृसंस्थाहरु तरुण दल, नेविसंघलाई वैचारिक र संगठनात्मक दुवै रुपमा बलियो बनाउने कुरालाई आत्मासाथ गर्ने योजनामा दृढ छु । म काँग्रेसमा देखिएका गुट–उपगुट भन्दा लोकतन्त्रलाई बलियो बनाउन, भ्रष्टाचार मुक्त, विकसित मुलुकको कल्पना गर्दै आर्थिक उन्नतिलाई शिखरमा पुर्याउन काँग्रेस एक ढिक्का हुनुपर्छ भन्ने कुरालाई विश्वास गर्ने नेपाली काँग्रेसको एक सिपाही हुँ ।

काँग्रेसको १४औँ महाधिवेशनका लागि नेताहरु आफ्नो तयारी थालिसकेका छन् । तपाईंको तयारी के छ ? कुन पदका लागि लड्ने योजना बनाउँदै हुनुहुन्छ ?

म पार्टीको सिपाहीं हुँ भनेर भनिसकेको छु । पद र प्रतिष्ठाका लागि भन्दा पनि सेवाका लागि राजनीति गर्ने सोच बनाएर काँग्रेसमा लागेको हुँ । पार्टी नेता कार्यकर्ताहरुले आवश्यक ठानेमा काँग्रेसको पदाधिकारी नै बन्नु पनि टाढाको कुरा हो जस्तो लाग्दैन । तर, अहिले चाहीँ मैँले केन्द्रीय सदस्य वा कुनैपनि पार्टीका पदमा लड्ने वा मनोनित हुने कुनै योजना बनाएको छैन । सेवा गर्न पद नै चाहिन्छ भन्ने छैन । देश र जनताको सेवा जीवनभर गरिरहने अभिप्रायले राजनीतिमा लागेको हुँ । कुनबेला के आईलाग्छ, त्यो बेला त्यही अनुसार अगाडि बढ्नुपर्छ । जनताको सेवा गर्ने कार्यमा पछाडि हट्ने त कुरै भएन नि, होईन र ?

मुलुक संघीयतामा गइसकेपछि प्रदेश संरचनाको औचित्य र त्यसले सिर्जना गरेको वित्तीय भार लगायतका विषयमा धेरैले टिकाटिप्पणी गर्ने गरेका छन् । त्यसमध्य तपाईं पनि पर्नुहुन्छ । प्रदेश संरचनाको विरोध किन गर्नुभएको ?

मुलुकमा २०७२ सालको संविधानले ७५३ स्थानीय पालिका, ७ प्रदेश र एक संघ गरी ७६१ वटा सरकार अनि ६ हजार ७४० वटा वडाहरु भएको संरचना दिएको छ । यी सबैको सञ्चालनमा लागि राज्यको खर्चले धान्दैन । यसको बारेमा अनिवार्य सोच्नुपर्छ । अर्को केन्द्र र प्रदेशको संसदमा समानुपातिक कोटा छुट्याइएको छ । त्यो एकदम गलत हो, समानुपातिक हटाउनुपर्छ । जातका आधारमा दिएको आरक्षण पनि हटाउनुपर्छ । जातका आधारमा दिएको आरक्षणको दुरुपयाग भएको छ, समानुपातिक पनि धनीहरुलाई सांसद बन्ने स्थानको रुपमा परिचित भएको छ । उमेश श्रेष्ठ, विनोद कुमार चौधरी, खनिल रुंगटा, रुप ज्योती, राजेन्द्र खेतानहरु सांसद हुने बाटो समानुपातिकले दिएको छ । जनताका लागि जीन्दगीभर काम गरेको मान्छे पछाडि पर्ने तर व्यापार गरेर रकम कुम्ल्याएको मान्छे साँसद हुने समानुपातीकबाट भएको छ। प्रत्यक्षमा पनि धनवाद, डनवाद, नातावाद हावी छ । जनताको प्रतिनिधि बन्नका लागि निर्वाचन जितेर आउनुपर्यो नि !

तपाईं चाकरी गर्दिन भन्नुभयो । ढोका नढक्ढक्याई नेताहरुले विश्वास गर्लान र ? किनकी अहिलेको प्रवृत्ति नै यस्तै देखिएको छ नि ?

नेपाली काँग्रेसको उच्च नेतृसंग निरन्तर सम्पर्कमा छु । नेताहरुसंग सम्पर्कमा बस्नुलाई चाकरी भन्न मिल्दैन, काँग्रेस फेरि ठूलो र पुरानो पार्टी हो, नेताहरु पनि धेरै हुनुहुन्छ । नेताहरुलाई भेट्न जानु नै चाकरी भनेको होईन, नेताहरुले गलत गर्नुभयो भने गलतलाई गलत र सहीलाई सही भन्न भने सक्नुपर्छ । हाम्रा केही मित्रहरु गलत वा सही भनेर सुझाब दिन सक्नुहुन्न । गलत गरेको लागे पनि नेताहरुलाई हो मा हो थप्ने काम मात्र गर्नुहुन्छ, त्यो मलाई राम्रो लाग्दैन । म दिनको १८ घण्टा सामाजिक सेवामा व्यस्त हुन चाहन्छु । अहिलेसम्म पार्टीका कुनैपनि महत्वपूर्ण पदहरु पाएको छैन, माओवादी आक्रमण मरेर बाँचेको मान्छे हुँ, मेरो अर्को भाषामा भन्नुहुन्छ भने म जीऊँदो लास हुँ, देशभर घुमेको छु, तरुणदललाई विगतको भन्दा निकै नै बलियो संगठन बनाएर लाने हैसियत मसँग छ । मेरो क्षमताको मुल्यांकन सबै पक्षबाट हुनेछ र उक्त मुल्यांकनले मलाई जनताको सेवामा नरिन्तर लागिरहने कुरालाई साथ दिन्छ । कुनैपनि स्थान पाईएन भने आफ्नो स्थानबाट अहिले जसरी नै काँग्रेसलाई सघाई रहनेछु, आज पद खोज्ने, नपाएमा रुष्ट भएर सुतिरहने भन्ने खालको मान्छे म होईन, केही सोच लिएर काँग्रेसमा सक्रिय भएको हो, सानोतिनो फाइदा र घाटा हेरेर काँग्रेस भएको मान्छे होईन म ।

पछिल्लो समय देशमा विभिन्न किसिमका नयाँ राजनीतिक शक्तिहरुको उदय भएको छ । नेपालको सबैभन्दा पुरानो मध्येको एउटा पार्टी काँग्रेसलाई पनि अब पुनर्ताजगी गर्नुपर्ने स्वरहरु सुनिन थालेका छन् । काँग्रेस कस्तो हुनुपर्छ, अहिले नै ठिक छ कि परिमार्जित हुनुपर्छ ?

नेपाली काँग्रेस नेपालको इतिहास हो । वर्तमान हो र भविष्य पनि । १९९३ सालको राणाविरोधी आन्दोलनको शुरुवातदेखि अहिलेसम्म ८८ वर्ष भएछ । देशको राजनीतिक संक्रमण काल, २००७ सालको प्रजातन्त्र आएदेखि नै ७४ वर्ष भईसक्यो । अझैँ कति पर्खनु ? नेपाली काँग्रेस प्रत्यक्ष–अप्रत्यक्ष मुलुकमा भएको समस्याको रुपमा जिम्मेवार भएर लाग्नुपर्ने हो, लागेको देखिएन । अब काँग्रेस नयाँ ढंगले अगाडि नबढे काँग्रेसलाई मात्र भन्दा पनि मुलुकलाई नै दुर्भाग्य हुन्छ, जिम्मेवार नेतृत्वले जिम्मेवार भएर सोच्न जरुरी भयो ।

तर, डन प्रवृत्ति काँग्रेस बद्नाम छ भन्नेहरु पनि छन् नि ?

धन, डन, नातावाद, चाकरी चाप्लुसी प्रवृति हरेक पार्टीमा छ, हरेक व्यापार व्यवसायमा छ। सबैतिर धनवाद र डनवाद छ । तर, काँग्रेसमा सँसार घुमेका, पढेलेखेका युवाहरुको प्रवेश भईसकेको छ । उनीहरु के गर्दा राम्रो हुन्छ र के गर्दा नराम्रो हुन्छ, यसको विवेक प्रयोग जान्दछन् र उनीहरुमा त्यो क्षमता छ । राजनीति अलि महंगो भएको छ, अपवादबाहेक केही व्यवसायमा लागेमा सक्षम साथीहरु समेत हुनुहुन्छ । उहाँहरुलाई बदनाम गर्ने गरिन्छ । त्यो गलत हो । विपक्षीले बद्नाम गरेर काँग्रेसलाई धनवाद र डनवाद भन्छन् । तर, खासमा त्यस्तो होईन । ठूलो संगठन भएकाले कतैकतै त्यस्ता व्यक्तिहरु घुसेका हुनसक्छन् । तर, तिनीहरु विस्तारै छाँटिदै जान्छन् । काँग्रेसको विकल्प काँग्रेस नै हो, लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो, व्यक्तिहरु बिग्रिए भनेर काँग्रेसलाई बदनाम गर्नु गलत हो, काँग्रेस देशको सम्पत्ति हो ।

पदबाहिर हुँदा सिद्धान्तका कुरा गर्ने, पदमा पुगिसकेपछि सबै बिर्सिने चलन नेपाली राजनीतिमा पुरानै हो । यसमा तपाईं आफूलाई कसरी पृथक राख्नुहुन्छ ?

हेर्नुस न, कुरा त गर्नैपर्यो नि, तर गफ बढी गर्ने काम कम गर्ने हाम्रो मुलुकको राजनीतिमा परम्परा नै भएको छ, त्यो परम्परा तोडिन जरुरी देखिन्छ । जस्तै कुलमान घिसिगंले काम गुर्नुभयो, बालेन शाहको नाम पछिल्लो समयमा चर्चामा छ । त्यसैगरी नेपाली जनताको मनमा पस्ने मेरो ईच्छा ह । आफू निरन्तर लागिरहन्छु, अब कत्तिको सफल हुन्छु त्यो भने भावी दिनले देखाउला, पवित्र मनले मुलुकको सेवा गर्ने मेरो ईच्छा हो ।

नेपाली काँग्रेसको सक्रियतामा एमसीसी संसदबाट पास भयो । तर, अहिले बीआरआईबारे काँग्रेसले किन अड्डी कसिरहेको राखिरहेको छ । यस्तो किन ?

यी दुबै कुराहरु देशको लागि राम्रो होईनन् । देश मागरेर चलाउने, ऋण लिएर चलाउने भन्दा आत्मनिर्भर हुन जरुरी छ ।

अन्यमा के भन्नुहुन्छ ?

विश्वभर बस्ने नेपालीहरुले अब राजनीतिमा चासो लिनुपर्ने बेला आएको छ, राजनीतिलाई कमाई खाने भन्दा असल रुपमा समाज सेवाको अस्त्रको रुपमा विकास गर्नुपर्छ, र सबै देश निर्माणमा लागौं भन्ने आह्वान गर्न चाहन्छु ।

राजीतिमा नैतिकता हुनुपर्यो, राजीतिलाई नीतिहरुको नीति भनिए पनि यहाँ जनतालाई प्रयोग गरेर आफू पदमा पुग्ने र जनतालाई बिर्सिने परम्परा विकशीत भएको छ, मुलुकको आर्थिक समृद्धिका लागि सबै राजनीतिक दलहरु, व्यवसायीहरु आफ्नो क्षेत्रमा नैतिकवान भएर लाग्न आवश्यक छ ।