काठमाडौँ– पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित नहुने भएका छन् ।
रुपन्देही जिल्ला अदालतमा आइतबार अबेर मात्रै सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा मुद्दा दर्ता भएपछि त्यसको प्रतिवादमा सोमबार रुपन्देही आउने पूर्व तयारीमा रहेका रवि लामिछाने काठमाडौंमै रोकिएका हुन् ।
आइतबार ढिलो गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो । यसअघि कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका उनी अदालतमा आफै उपस्थित हुने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ ।
सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको हो । अभियोग पत्रमा लामिाछनेसहित २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो माग दाबी गरिएको छ । जसमा लामिछानेमाथि व्यक्तिगत २ करोड पनि बिगो दाबी गरिएको छ ।