चितवन – पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनिरहेको भिडियो चितवनको भएको पुष्टि भएको छ ।
भिडियोमा मध्यरातमा एकजना प्रहरीले एक युवकलाई लात्तीले हानेको दृश्य देख्न सकिन्छ । उक्त घटना चितवनको भरतपुर महानगरपालिका–११ बसेनी चोकमा भएको बुझिएको छ भने भिडियोमा देखिएको प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर घलान रहेको पुष्टि भएको छ ।
चितवन प्रहरीका डीएसपी ज्ञानकुमार महतोका अनुसार कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको छ ।
यसरी भएको थियो घटना
अहिले चितवन प्रहरीले बुलेट मोटरसाइकलको अनावश्यक आवाज नियन्त्रण अभियान पनि चलाइरहेको छ ।
सोही क्रममा गत पुष १५ गते पनि भरतपुरको वडा नम्बर ११ को गणेशस्थान अस्थायी प्रहरी पोष्टका प्रसनि ड्यूटीमा खटेका थिए । त्यसैबेला ध्वनि प्रदूषण गराउने मोटरसाइकल युवाहरूले चढेर आएको डीएसपी महतोको दाबी छ ।
राति करिब सवा १० बजेतिर एक स्कुटरसहित ४ वटा मोटरसाइकलमा युवाहरू हुइँकिँदै आएका थिए । ५–७ जनामध्ये सबैले मादक पदार्थ सेवन गरेर आएकाले उनीहरू भागेको प्रहरीको भनाइ छ । ती युवाले मोटरसाइकल छुटाउन आफूभन्दा माथिल्लो तहकालाई फोन गर्न लागेपछि ड्यूटीमा रहेका प्रसनि घलानले लात्तीले युवकलाई कुटेका थिए ।
डीएसपी महतोका अनुसार सो रात चारवटै मोटरसाइकललाई ट्राफिक जरिवानापछि भोलिपल्ट दिउँसो छोडिएको थियो ।
छानबिनका लागि ५ सदस्यीय समिति गठन
घटनाबारे आफूलाई कुटपिटको भिडिओ आइतबार सार्वजनिक भएपछि मात्रै थाहा भएको डीएसपी महतो बताउँछन् । उक्त घटनामा प्रहरीले युवालाई कुट्नु गलत भएको चितवन प्रहरीले स्वीकारेको छ ।
डीएसपी महतोका अनुसार घटनाको छानविन गर्न ५ सदस्यीय छानबिन समिति बनाइएको छ । अध्ययन प्रतिवेदनको आधारमा कुट्ने प्रहरीलाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए । समितिको संयोजकमा महतो छन् ।