सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको बताएका छन् । सोमबारदेखि सुर्खेतमा सुरु कर्णाली उत्सवको छैटौं संस्करणलाई सम्बोधन गर्दै उनले कर्णाली समस्यै समस्याको खाल्डो मात्र नभई सम्भावनाको सरोवर समेत भएको बताए ।
मुख्यमन्त्री कँडेलले पछिल्लो पटक संघीय सरकारले कर्णालीका केही महत्वपूर्ण सडकको स्तरोन्नतिको लागि अहिलेसम्मकै धेरै बजेट विनियोजन गरेको जनाए । ‘कर्णालीको भविष्यसँग जोडिएका कर्णाली करिडोर, भेरी करिडोर, गमगढी नाक्चेनाङ्गला सडकजस्ता रणनीतिक महत्वका सडकहरुको स्तरोन्नति र सुधारमा उल्लेख्य बजेट बिनियोजन भई काम अगाडि बढने प्रक्रियामा रहेको अवस्था छ, उनले भने, अनियमित विद्युतलाई नियमित गर्न १३२ केभी विद्युत प्रसारण लाइन र सुर्खेत विमानस्थललाई स्तरोन्नति गर्ने काममा केही नीतिगत निर्णय र सुधारका कामहरु भएका छन् ।’
मुख्यमन्त्री कँडेलले कर्णालीका हरेक जिल्लामा सम्भावनाका प्रशस्त आधार रहेको औंल्याए । उनका भनाईमा आर्थिक, धार्मिक र सांस्कृतिक दृष्टिले उत्तर र दक्षिण व्यापारको ढोका कर्णालीमै छ । कर्णालीले मानसरोवर एवम् मध्य एसिया पुग्ने सिल्क रोडलाई प्रतिनिधित्व गर्छ । हिमाल, पहाड, नदी, वनजंगल, कृषि भूमिलगायत औषधिजन्य उत्पादनको सम्भावना कर्णालीमै छ । मानसरोवर मार्ग, फोक्सुण्डोलगायत साँंस्कृतिक र प्राकृतिक भूमिहरूले कर्णालीलाई राष्ट्रिय मात्र होइन अन्र्तराष्ट्रिय पहिचान बढाएका मद्दत गरेका छन । कर्णालीको पानी र जडीबुटी संसारकै उत्कृष्ट छ । तर यति हुँदाहुदै पनि कर्णाली भन्ने वित्तिकै दुर्गम, अभाव र विकटको पहिचान बनाउने प्रचलित मान्यता अझै यथावत रहेको टिप्पणी गरे । उनले भने, वर्षौंदेखि बनाइएको रोग भोक र शोकको नकारात्मक बिम्बले हामीलाई अझै थिचिरहेको छ, कर्णालीलाई समस्याको खाल्डो बनाउने काम भयो, सम्भावनाको सरोवर बनाउने काममा हामीले ध्यान पु¥याउन जरुरी छ ।’
पूर्वाधार, पहुँच, जागरण र सुधारका सूचकहरुले कर्णाली अब हिजोको जस्तो भोक र शोकको पर्याय नभएको मुख्यमन्त्री कँडेलको भनाई छ । ‘सबै काम प्रदेश सरकारले गर्न सक्दैन र अधिकार क्षेत्रभित्र पनि पर्दैन् । आफनो अधिकार क्षेत्र पर्ने कामहरु इमान्दारिता पूर्वक गर्ने र आफ्नो अधिकार क्षेत्र बाहिरका विषयहरु संघीय सरकारलाई महशुस गराउने दृढ अभियानमा म लागिरहेको छु, उनले भने ।
फरक प्रसंगमा मुख्यमन्त्री कँडेलले लोकतन्त्रको विकल्प अझ सहभागितामूलक उन्नत लोकतन्त्र नै रहेको विचार व्यक्त गरे । ‘यसको विकल्पमा पारिवारिक र वंश परम्पराको शासन व्यवस्था कदापी हुन सक्दैन, व्यक्तिका तमाम कमजोरीहरु होलान, सत्ता संचालन र शासनमा आमूल सुधारको अपेक्षा होला, त्यसलाई अन्यथा मान्दैन’, उनले भने, ‘आवधिक निर्वाचन मार्फत सार्वभौम नागरिकले त्यस्ता व्यक्तिलाई जनमतबाटै तिस्कार गर्न सक्ने हामीले व्यवस्था गरेका छौँ । तर व्यक्ति विशेषका कमजोरीलाई लिएर व्यवस्थाप्रति घृणा फैलाउने र नागरिकलाई राज्यप्रति वितृष्णा जगाउने कामले न व्यवस्था बलियो हुन्छ न नागरिकले सन्तुष्टी प्राप्त गर्न सक्दछन् ।’
कर्णाली उत्सवको छैटौं संस्करणको उद्घाटन समारोहमा बोल्दै वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा द्धारिका उप्रेतिले तीन वटै तहका सरकारले रोजगारी र उत्पादनसंग सम्बन्धित कार्यक्रमलाई जोड दिनुपर्ने बताए । वैदेशिक रोजगारले तत्कालीन आवश्यकतालाई मात्र व्यवस्थापन गर्ने भएकाले दिगो विकासका लागि स्वदेशमै उद्यमशिलता र उत्पादनमा जोड दिनुपर्ने उनको भनाई थियो ।
यस्तै नेपाल सरकारका पूर्व सचिव केवलप्रसाद भण्डारीले कर्णालीमा निरन्तर एउटा सामाजिक संवादको शृङ्खला सुरु गरौँ भनेर कर्णाली उत्सव सुरु गरिएको बताए ।