विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश संरचनालाई जनताले सुनिने, देखिने र अनुभव गर्ने बनाउन आफुहरु क्रियाशिल रहेको बताएका छन् ।
७५ औं राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा कोशी प्रदेश सरकारले बुधबार विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संघिय, प्रदेश र स्थानीय सरकार बीचको समन्वय, सहकार्य र एकताका आधारमा मुलुकलाई समुन्नत र समृद्ध बनाउन सकिने धारणा राखे ।
उनले मुलुक र संविधानको रक्षा कुनै एक व्यक्ति वा संस्था भन्दा पनि सम्पूर्ण नेपालीको एकता र सहकार्यबाट मात्र सम्भव रहेको उल्लेख गरे । नेपालको सार्वभौमसत्ता नेपालीले नै जोगाएको भन्ने कुरा सबैले बुझ्न आवश्यक रहेको उनको भनाई छ ।
७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस प्रदेशस्तरीय मूल समारोह समितिले आयोजना गरेको सो कार्यक्रम अघि प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । मुख्यमन्त्री कार्यालयबाट शुरु भएको बाजागाजा सहितको ¥यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।