काठमाडौं – प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा भारतले नेपाललाई दुई खर्ब ४० अर्ब भारु आर्थिक सहयोगको घोषणा गरेको छ ।
त्यसमध्ये कति सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) र कति अनुदानको हिस्सा रहने घोषणा गरिएको छैन ।
नेपालले भारतसँग २ खर्ब भारु आर्थिक सहयोग दिन अनुरोध गरेको थियो । १ खर्ब भारु ऋण र १ खर्ब अनुदान दिन नेपालको अनुरोध थियो । भारतले नेपालले अनुरोध गरेअनुरुप नै सहयोग घोषणा गरेको हो ।
१ खर्ब अनुदानमध्ये ५० अर्ब भारु रसुवा बाढीपछिको पुनर्निर्माणमा लगाउने प्रस्ताव नेपालको थियो । त्यस्तै, बुटवल–पोखरा एक्सप्रेस वे बनाउन थप ५० अर्ब भारु सहयोग नेपालले मागेको थियो । तर कुन परियोजनालाई कति रकम सहयोग हुने मोदीले खुलाएका छैनन् ।
भारतले नेपालका लागि हालसम्म चारवटा लाइन अफ क्रेडिट घोषणा गरिसकेको छ । नेपालले दुई वर्षअघि २०८१ मा ९० करोड डलर लाइन अफ क्रेडिट रद्द गरेको थियो ।
यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा नेपाल भ्रमण गर्दा १ अर्ब अमेरिकी डलर सहयोग घोषणा गरेको थिए । सन् २०१५ मा नेपालमा ठूलो भूकम्प गएपछि त्यसलाई भूकम्पको पुनर्निर्माणका लागि गर्ने सहयोगमा रुपान्तरण गरिएको थियो ।
भारतको लाइन अफ क्रेडिटबाट बन्ने आयोजनामा ७५ प्रतिशत वस्तु भारतीय नै उपयोग गर्नुपर्ने नियम रहेकाले भारतले घोषणा गरेको मध्ये करिब ८५ अर्ब भारु ऋण उपयोग हुन नसकेको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।


























