काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
भारतको दुईदिने राजकीय भ्रमणका क्रममा सोमबार नयाँदिल्लीमा आयोजित नेपाल–भारत संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल–भारत सम्बन्धका अभिन्न आधार रहेको बताएका छन् ।
उनले दुई देशबीच भएको उच्चस्तरीय छलफलमा दूरगामी महत्वका विषयमा विचारविमर्श भएको उल्लेख गर्दै नेपाल–भारत सहकार्यका विभिन्न क्षेत्रमा साझेदारी तथा परियोजनाहरू अघि बढाइएको जानकारी दिए ।
प्रधानमन्त्री शाहले भएका समझदारी र अघि बढाइएका परियोजनाको प्रतिफल आम नागरिकको जीवनमा देखिनुपर्नेमा जोड दिए । उनका अनुसार सहकार्यको लाभ किसानको खेतसम्म समृद्धिका रूपमा पुग्नुपर्छ भने युवाको हातमा रोजगारी र अवसरका रूपमा आउनुपर्छ ।
त्यस्तै, विद्यार्थीका सपनाले नयाँ सम्भावना पाउनुपर्ने र उद्यमीहरूले बजार तथा लगानी विस्तार गर्न सक्ने वातावरण बन्नुपर्ने उनको भनाइ थियो । प्रधानमन्त्री शाहले दुई देशबीच भएका समझदारी र सहकार्यले नेपाल–भारत सम्बन्धलाई थप नयाँ उचाइमा पुर्याउने विश्वाससमेत व्यक्त गरेका छन् ।


























