काठमाडौं–प्रहरीले सक्रियता बढाएसँगै उदयपुरमा लागुऔषध कारोबारी धमाधम पक्राउ पर्न थालेका छन् । लागुऔषध तस्कर र सेवनकर्ता नियन्त्रणका लागि प्रहरीले गाउँमा अभियानसमेत थालेको छ । बजार र नाकामा सुरक्षा कडाइ गरिएपछि तस्कर र दुव्र्यसनी गाउँ प्रवेश गरेको सूचना पाएपछि त्यतै सक्रियता बढाइएको एसपी नवराज भट्टले जानकारी दिए ।


ADVERTISEMENT


‘बजार क्षेत्रमा पक्राउ परिन्छ भन्ने डरले लागुऔषध कारोबारी र सेवनकर्ता गाउँतिर पसेको जानकारी आएको छ’, एसपी भट्टले भने, ‘त्यसैले अभियानलाई गाउँमा केन्द्रित गरेका हौं ।’ लागुऔषध सेवन र तस्करीविरुद्ध अपरेसन सुरु गरेपछि धेरै सफलता मिलेको उनले बताए ।


ADVERTISEMENT

# # #


एसपी भट्ट र सशस्त्र प्रहरी बल त्रियुगाका डीएसपी पुरणचन्द भट्ट नेतृत्वको टोलीले बिहीबार बेलका नगरपालिका क्षेत्रमा अफिम खेती नष्ट गरेको छ । बेलका नगरपालिका शान्ति नगर टप्पुमा लगाइएको अफिम खेती नष्ट गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय परेश मण्डलले व्यावसायिक रूपमा गरेको अफिम खेती नष्ट गरिएको एसपी भट्टले बता ए। ‘जग्गाधनी प्रहरी आउने खबरले गर्दा फरार भए’, उनले भने, ‘भारतबाट अफिमको बीउ ल्याएर बेलकामा पहिलो पटक खेती गरेको पुष्टि भएको छ ।’

गाँजा नियन्त्रण हुँदै गए पनि अफिम खेती बढ्न थालेको प्रहरीले जनाएको छ। ‘भारतीय गिरोहले उदयपुरका भू-भाग प्रयोग गर्ने गरेको पाइएकाले थप अनुसन्धान भइरहेको छ’, उनले भने।

यसैबीच प्रहरीले जिल्ला सदरमुकाम गाईघाटबाट लागूऔषधसहित केही युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-१० का २० वर्षीय भीषण राई, २० वर्षीय विशेष मगर, वडा नम्बर ११ का २१ वर्षीय नीराजन खत्री र २० वर्षीय किशोर मगर छन् । लुपिजेसिक, फेनारगन र डाइजेल्याबसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ । प्रहरीले केही महिनायता लागुपदार्थ सेवन गरे/नगरेको पत्ता लगाउने यन्त्र ‘किट टेस्टर’ प्रयोग गर्न थालेपछि सेवनकर्ता पक्राउ पर्न थालेका छन् । पक्राउ परेका एक सय ३० मध्ये ६७ जनाविरुद्ध लागुऔषध मुद्दा चलाइएको प्रहरी तथ्यांक छ ।