काठमाडौँ– कुलमान घिसिङलाई पदबाट हटाइएको बिषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलको अवरोधका कारण शुक्रबार पनि राष्ट्रियसभा बैठक स्थगित भएको छ ।
शुक्रबार बसेको बैठकमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयलाई लिएर विपक्षी दलहरुले अवरोध गरेपछि बैठक स्थगित भएको हो । बैठक सुरु हुनेबितिकै बिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
उनीहरुले कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ नआएसम्म विरोध कायमै रहने धारणा राखेका थिए । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिष्थापन विधेयक अघि बढाउनुपर्ने भएकाले सहज रुपमा बैठक सञ्चालनका लागि आग्रह गरेका थिए । उनले राष्ट्रियसभाको गरिमा कायम राख्नका लागि गम्भीर बन्न समेत आग्रह गरेका थिए ।
राष्ट्रियसभा अध्यक्ष दाहालले अरु प्रक्रियाबाट समस्या समाधान गर्न ध्यानार्षण गराएपनि विपक्षी दलले विरोध कायमै राखेपछि उनले बैठक स्थगित गरे ।