काठमाडौं–भारतीय पक्षले नेपालको सहमति बिना नै महाकाली नदीमाथि चारवटा काठे पुल बनाएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले विरोध गरेका छन् ।


ADVERTISEMENT


सामाजिक सञ्जाल ट्वीटरबाट पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । एकतर्फीमा रुपमा भौतिक संरचना निर्माण गरेर भारतले हेपाहा प्रवत्ति देखाएको भन्दै यसलाई तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।


ADVERTISEMENT

# # #


उनले लेखेका छन्ः

हामी भारतसँग असल मैत्रीपूर्ण सम्बन्ध राख्न चाहान्छौं। तर, भारतीय पक्ष भने आज पनि नेपाल माथि हेपाहा र बलमिच्च्याँईपुर्ण व्यवहार गर्दैछ। त्यसको पछिल्लो उदाहरण हो – सीमानदी महाकाली र त्यसवरपर नेपालीभूमिमा एकतर्फी रुपमा भारतद्वारा बनाउँदै गरिएका पुल, सडक जस्ता संरचना । सरकारले तत्काल रोकोस् ।

केही महिनापहिले जिल्ला प्रशासन कार्यालय, दार्चुलालाई सहमतिका लागि पत्राचार गरेको भारतले नेपालले सहमति नजनाउँदै चार पुल लगाउँदै आफ्नो मिचाहा प्रवृत्ति देखाएको छ ।

भारतीय पक्षले त्रिदेशीय सीमा क्षेत्र नजिकै पर्ने नजांग खोला, लखनपुर, दोपाखे र बुदीको कौथलामा काठे पुल लगाएको हो । दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने महाकाली नदी वारपार गर्नका लागि अस्थायीरुपमा काठे पुल लगाएको स्थानीयवासीले बताएका छन् ।

हाल उक्त पुलबाट भारतले सडक निर्माणमा लगाएका मजदुर आवत जावत गर्ने गरेका छन् । भारतले हाल कालापानीसम्म सडक निर्माणका लागि ट्र्याक खोल्ने कार्य गरिरहेको छ । केही समयअगाडि भारतीय प्रशासनले जिल्ला प्रशासन कार्यालय, दार्चुलामा हेभी इक्युपमेन्ट डोजर ढुवानी गर्न भन्दै पत्रमार्फत अनुरोध गरेको थियो ।

भारतीयको अनुरोधबारे जिल्ला प्रशासनले गृह मन्त्रालयलाई जानकारी गराइसकेको छ भने गृह मन्त्रालयबाट अझै स्वीकृति नआएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

भारतले आफूलाई आवश्यक पर्ने चारवटा अस्थायी काठे पुल निर्माण गरिसकेको छ । भारतले लखनपुरमा महाकाली नदी पार गरी नेपाली भूमि भएर तीनवटा डोजर आफ्नो भूमि लगेको छ । डोजरले नेपाली भूमिमा बाटोसमेत खनेको छ । नेपालको तम्बाकु खोलादेखि थिइको भिरको फेदसम्म भारतीय पक्षले पैदल बाटोसमेत निर्माण गरेको व्यास गाउँपालिका अध्यक्ष दिलीप सिंह बुढाथोकीले जानकारी दिए ।

भारतले लगाउने झोलुंगे पुल तथा बाटो निर्माणका बारेमा आगामी फागुन २१ गते पिथौरागढमा हुने नेपाल र भारतका अधिकारीको समन्वय बैठकमा एजेण्डासमेत बन्नेभएको थियो ।

काठेपुल निर्माण गरेरनगरेको विषयमा सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म, दार्चुला र जिल्ला प्रहरी कार्यालय बाट खटिएको संयुक्त टोलीले अनुगमन गरेपछि पुल निर्माण गरेको पुष्टि भएको हो । “सीमा नदीमा अस्थायी पुल निर्माण तथा दुई देशबीच सुरक्षाका हिसाबले कुनै पनि कार्य गर्दा समन्वय गर्नुपर्ने हो, भारतीय पक्षबाट समन्वय भएन, प्रजिअ गौतमले भने ।