काठमाडौँ – नेपाल राष्ट्र बैँकको १८औँ गभर्नर नियुक्तिको समयावधि एक हप्ता भन्दा पनि कम रहँदा आकांक्षी र विचौलियाहरुले सत्तारुढ दलको शीर्ष नेताहरुको दैलो धाउन थालेका छन् ।
हालका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल यही चैत्र अन्तिम सातामा सकिँदैछ । त्यसअघि नै गभर्नरका लागि नयाँ नियक्ति गरिसक्नुपर्नेछ । त्यसका लागि सरकारले अर्थमन्त्रीको संयोजकत्वमा सिफारिस समिति गठन गरिसकेको छ ।
यहीबीच केही विचौलियाहरुले व्यक्तिगत स्वार्थका लागि गभर्नरमा पूर्वसचिव राजेन्द्र किशोर क्षेत्रीको नाम अघि सारेका छन् । उनीहरुले क्षेत्रीमार्फत आफ्नोफ्ना स्वार्थ पूरा गर्ने उद्देश्यसहित उच्च राजनीतिक ‘पावर’ लगाउन सुरु गरेका हुन् ।
पछिले समय विचौलियाको छवी बनाएका दीपक भट्टलगायतको समूहले केही घराना र व्यवसायिक प्रतिष्ठानको आडमा क्षेत्रीलाइ गभर्नर बनाउन चलखेल सुरु गरेका छन् । त्यसका लागि उनीहरुले करोडौँ रुपैयाँको आर्थिक चलखेल समेत सुरु गरेको स्रोतले बतायो ।
विचौलियाको चलखेल अनुसार क्षेत्रीलाई गभर्नर बनाइए देशको अर्थतन्त्र चौपट हुने स्रोतको भनाई छ । ‘अहिले गणतन्त्रमाथि नै प्रश्न चिह्न पैदा भइरहेका बेला यस्त विचौलियाको पछि सरकार लागेर नियामक निकायलाई पुंगु बनाउन सरकारले लाग्यो भने अवस्था के हुन्छ ?’ स्रोतले भन्यो, ‘सक्षम र क्षमतावान् तथा अहिलेको लरता र वित्तीय अवस्थालाई उठाउन सक्ने व्यक्तिलाई साइड लगाएर विचौलियाहरुको पछि लागे देशको आर्थिक अवस्था निकै भयावह बन्छ ।’
गभर्नरको नियुक्ति सिफारिस समितिको सिफारिस अनुसार मन्त्रिपरिषद्ले गर्छ । तर, प्रधानमन्त्री केपी शर्माओली बिमस्टेकमा सहभागी हुन मंगलबारदेखि थाइल्याण्ड भ्रमणमा जाँदैछन् । उनी स्वदेश फर्किपछि मात्रै गभर्नरको नियुक्ति हुनेछ । उनी फर्किनुअघि नै क्षेत्रीको नाम सिफारिस सूचीमा राख्ने गरी विचौलिया लागेका छन् ।
को-को छन् गभर्नरका आकांक्षी ?
गभर्नरमा राष्ट्र बैँकका हालका डेपुडी गभर्नर डा. निलम ढुंगाना तिम्सिना, बमबहादुर मिश्र, स्वभाविक दाबेदार हुन् । यस्तै ज्ञानेन्द्र ढुंगाना, रमेश घिमिरे, रामेश्वर खनाल, शिवराज अधिकारीको समेत चर्चा छ ।
जसमध्ये तिम्सिना र मिश्र राष्ट्र बैँकका हालका डेपुटी गभर्नर हुन् । ढुंगानाले केही दिन अघि मात्रै नबिल बैँकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट राजीनामा दिँदै गभर्नरका लागि औपचारिक प्रतिस्पर्धामा सामेल भएका छन् ।
यस्तै रमेश घिमिरे हाल निक्षेप तथा तथा कर्जा सुरक्षण कोषको सीईओ हुन् भने रामेश्वर खनाल पूर्वअर्थसचिव तथा शिवराज अधिकारी राष्ट्रिय योजना आयोगका बहालवाला उपाध्यक्ष हुन् ।
सिफारिस समितिले डेपुटी गभर्नरद्वय तिम्सिना र मिश्रमध्ये एकजनासहित तीन जनाको नाम सिफारिस गर्नेछ । अन्य दुई जना बाहिरबाट अट्नेछन् । विचौलियाले त्यसमा क्षेत्रीलाई समेटेर अन्तिममा उनकै पक्षमा निर्णय गराउने खेल सुरु गरेको छ ।