काठमाडौँ– नेकपा एमालेले आज भृकुटीमण्डपमा भव्य शक्ति प्रदर्शन गर्दैछ।
‘युथ सेलेब्रेसन’ नाम दिइएको यो कार्यक्रमका लागि भृकुटीमण्डपको मुख्य सडकमा नै स्टेज निर्माण गरिएको छ, जसका कारण त्यस क्षेत्रतर्फ जाने सवारी साधनहरूलाई सिंहदरबार र पुतलीसडकतर्फ डाइभर्ट गरिएको छ।
देशभरका युवा सहभागी गराउन एमालेले सातै प्रदेशबाट प्रतिनिधिहरू काठमाडौं ल्याएको छ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, कार्यक्रममा लोकतन्त्र र युवाको भूमिकाबारे सार्वजनिक विमर्श हुनेछ। ‘सातै प्रदेशबाट आएका प्रतिनिधिहरूले आफ्ना धारणा प्रस्तुत गर्नेछन्’, उनले बताए।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति, विभिन्न वक्ताहरूका विचार तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन समावेश हुनेछ। एमालेले यो कार्यक्रम लोकतन्त्रको महत्व बुझाउनका लागि आयोजना गरेको बताइएको छ।
‘जनताले जितेको दिन’ भन्ने नारासहित आयोजना गरिएको सभा दिउँसो १ बजेबाट सुरु हुने जनाइएको छ।