काठमाडौँ– प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइएको छ ।
आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
यस अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँसीमा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान तथा आमाको प्रतिमाको दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
भक्तजन अघिल्लो दिन साँझदेखि आमाको सम्झनामा बत्ती बालेर जाग्राम बस्नुका साथै बिहान मातातीर्थ कुण्डमा स्नान गर्ने गर्दछन् ।