काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२÷८३ मा सवै भन्दा बढि स्थानीय तहसंग सम्बन्धीत उजुरी दर्ता भएको जनाएको छ ।
आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमा सन्दर्भमा जानकारी दिन बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अख्तियारले आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका ३३ हजार ५ सय १९ उजुरी मध्ये सवैभन्दा बढि स्थानीय तहसंग सम्बन्धीत रहेको जनाएको हो ।
आर्थिक वर्ष २०८२/८३ मा सोही आर्थिक वर्षमा दर्ता भएका ३३ हजार ५१९ वटा र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ७,३२३ वटा उजुरी कायम भएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।
जसमध्ये स्थानीय तहसंगसम्बन्धी उजुरी २० हजार २५ अर्थात ४९ दशमलव ०३ प्रतिशत रहेको छ भने सङ्घीय तहसंग सम्बन्धीत १५,५१२ वटा अर्थात ३७ दशमलव ९८ प्रतिशत र सवैभन्दा कम प्रदेश तहको ५,३०५ अर्थात १२ दशमलव ९९ प्रतिशत रहेका छन् । प्रवक्ता न्यौपानेले सङ्घतर्फ परेका उजुरीहरूमध्ये सबैभन्दा बढी भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित ३ हजार ३६ वटा रहेको जानकारी दिए ।
उनले विशेष अदालतबाट प्राप्त १५६ वटा फैसलामध्ये ८१ वटा मुद्दामा कसुर स्थापित भएको र सर्वोच्च अदालतमा १०४ वटा पुनरावेदन दर्ता गरिएको जानकारी दिएका छन्।
आयोगले उजुरी छानबिनका साथै सम्पत्ति शुद्धीकरण, शिक्षा, सूचना प्रविधि, भूमि प्रशासन र धितोपत्र लगायतका निकायहरूसँग समन्वय गरी सार्वजनिक निकाय र पदाधिकारीहरूलाई विभिन्न सुधारका सुझाव दिएको जनाएको छ । आयोगले बिहीबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको हो ।































































