काठमाडौँ – राप्रपा वरिष्ठ नेता रवीन्द्र मिश्रलाई थुनामुक्त गरिएको छ ।
प्रहरी हिरासतमा रहेका राप्रपा वरिष्ठ नेता मिश्रलाई हाजिरी जमानीमा थुनामुक्त गर्न सर्वोच्चले आदेश दिएसंगै उनी रिहा भएका हुन् । बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मिश्रलाई हाजिरी जमानीमा थुनामुक्त गर्ने आदेश दिएको हो ।
सर्वोच्चको आदेशपछि रिहा भएका मिश्रले चैत १५ को घटनामा ज्यान गुमाउनेप्रति श्रद्धान्जली व्यक्त गर्दै उक्त घटनाको योजना आफूले नगरेको बताए । उनले यस घटनामा राज्य आफुबिरुद्ध लागेको स्पष्ट भएको उल्लेख गरे ।
उनले आफुले राजसंस्था पुनस्थापनाका लागि काम गरेकै तर संगठित अपराध, राज्यविरुद्धको कसुर र अपराधिक उपद्रवको काम केही नगरेको बताए । उनले भने, ‘आन्दोलनमा जुन जनधनको क्षति भयो, त्यसप्रति अ अत्यन्तै दुःखी छु । आरोप लगाएजस्तो मजस्तो मान्छेले त्यो याजना बनाएको कुरा पनि होइन ।’
उनले आफू हाजिरी जमानीमा थुनामुक्त भएकाले खुसी मनाउनुपर्ने कारण नभएको बताए । उनले भने, ‘म धेरै खुुसी मनाउने पक्षमा छैन । अझैँ मुद्दा बाँकी नै छ । राज्य मविरुद्ध लागेको छ भनेर अभिवक्ताहरुले बहसमा भनिसक्नु भएको छ । मुद्दा बाँकी नै छ । त्यसमा म लागिनै रहन्छु ।’
उनले थपे, ‘मैँले राजनीतिक रुपमा राजसंस्था पुनर्स्थापनाका लागि काम गरेकै हो । तर, राज्यविरुद्धको कसुर, सांगठित अपराध र आपराधिक उपद्रोह मबाट केही पनि भएको छैन ।’
गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजवादीले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको भन्दै प्रहरीले मिश्रलाई पक्राउ गरेको थियो । मिश्रलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दैसर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको थियो ।