सुनसरी – बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ वटा बङ्गुर मरेका छन् ।
स्थानीयले व्यावसायिक रूपमा पालेका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा।मनोजकुमार महतोले जानकारी दिए ।
बराहक्षेत्र–१ मा रहेको दियाली कृषि फार्ममा २० वटा बङ्गुरमा सङ्क्रमण देखिएको छ भने १७ वटाको मृत्यु भएको छ । त्यसैगरी बराह बङ्गुर फार्ममा १५ वटामा सङ्क्रमण देखिएको छ भने सात बङ्गुरको मृत्यु भएको उनले जानकारी दिए । उनका अनुसार स्थानीय सुवास श्रेष्ठले पालेका बङ्गुर फार्ममा २२ वटामा सङ्क्रमण देखिएको छ भने १२ को मृत्यु भएको छ ।
बराहक्षेत्रमा मात्र अहिले सम्ममा उक्त फिभरले ३६ बङ्गुरको मृत्यु हुनुका साथै ५७ वटामा अझै सङ्क्रमण रहेको डा. महतोले बताए । यसअघि सुनसरीको दुहबी, रामधुनी र धरानमा सङ्क्रमण देखिएको थियो ।
रासस