काठमाडौँ — भारतीय जनता पार्टी (भाजपा) का नेता डा. विजय जोलीले नेपाल–भारत सम्बन्ध रोटी र बेटीमै सीमित नरही सैनिक क्षेत्रसम्म पनि गहिरो रहेको बताएका छन्।
नेपाल भ्रमणमा रहेका जोलीले बुधबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल–भारतबीचको सम्बन्ध अटुट र बहुआयामिक भएको दाबी गरे। “नेपाल र भारतबीचको सम्बन्ध केवल सांस्कृतिक र पारिवारिक होइन, सैनिक क्षेत्रमा पनि गहिरो छ,” उनले भने।
जोलीले सार्क (दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन) को प्रभावकारिता समाप्त भइसकेको उल्लेख गर्दै यसको निष्क्रियताका लागि पाकिस्तानलाई दोषी ठहर गरे। उनले यसअघि सार्क एक प्रभावशाली क्षेत्रीय मञ्च भए पनि हाल त्यसले प्रभाव गुमाइसकेको बताए।
भारत सधैँ नेपालमा रहेको बहुदलीय लोकतान्त्रिक प्रणालीको पक्षमा रहेको उल्लेख गर्दै उनले नेपालका आन्तरिक विषयमा निर्णय लिने सम्पूर्ण अधिकार नेपाली जनता र यहाँका राजनीतिक दलसँग मात्र रहेको प्रस्ट पारे।
नेपालको धर्मनिरपेक्षता सम्बन्धी बहसमा जनताको भावना अनुसार अघि बढ्नुपर्ने धारणा राख्दै जोलीले नेपाली जनताको चाहना नै सर्वोपरि हुने बताए।