काठमाडौँ – नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता विजय जोलीले ८१ प्रतिशतभन्दा नेपालीहरुले हिन्दु राष्ट्र चाहाने बताएका छन् ।
चार दिनको भ्रमणमा हिन्दु राष्ट्रका लागि नेपाली जनतामा गहिरो भावना रहेको बुझेको दाबी गर्दै उनले सो कुरा बताएका हुन् । बुधवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता जोलीले सो कुरा बताएका हुन् ।
नेपालले हिन्दु राष्ट्रका लागि प्रयास गर्छन् भने त्यसमा आफ्नो साथ रहने बताउदैँ उनले भने, ‘ ‘नेपालका ८१.२ प्रतिशत हिन्दु जनताले हिन्दु राष्ट्र चाहन्छन् भने म त्यसमा साथ दिन तयार छु ।’’
सन् २०२१ मा प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनमा प्रभु रामको जन्म भएको भन्ने अभिव्यक्तिलाई स्मरण गर्दै उनले भने, ‘राम मन्दिर निर्माणको सन्दर्भमा ओलीले दिएको निर्देशन मेरो मस्तिष्कमा अझै ताजै छ । नेपाल–भारतको साझा सांस्कृतिक मूल्यमान्यता गहिरो छ ।’
साथै कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि हिन्दु राष्ट्रको पक्षमा अभिव्यक्ति दिइसकेको बताउँदै उनले नेपालको लोकतन्त्र जनताको भावना अनुरूप हिँड्न सके अझ सुदृढ हुने विश्वास व्यक्त गरे । राजनीतिक दलहरूले यसमा पुनः विचार गर्नुपर्ने उनको सुझाव छ ।