काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशी जोडिएको सहकारी मुद्दामा सर्वोच्च अदालतमा बहस जारी छ। न्यायाधीश नहकुल सुबेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा बिहीवार दोस्रो दिनको सुनुवाइ चलिरहेको हो।
मंगलबार सुरु भएको सुनुवाइ नटुंगिएपछि हेर्दा हेर्दैमा राखिएको थियो भने बुधबार एक न्यायाधीश अनुपस्थित भएकाले बहस अघि बढ्न सकेन। आजको सुनुवाइमा बहसलाई निरन्तरता दिइएको हो।
रास्वपा सभापति रवि लामिछानेका तर्फबाट बहस गरेका वकिलहरूले आफ्नो पक्ष राखिसकेका छन्। आजको प्रारम्भिक सत्रमा अन्तिम वकिल रमण श्रेष्ठले बहस गर्दै रविको भूमिकामा बदनीयत नभएको र उनलाई जबरजस्ती मुछ्ने प्रयास भएको दाबी गरे। उनले संसदीय विशेष समितिको प्रतिवेदनमा रविको सीधा संलग्नता नभएको कुरा पनि औंल्याए।
रविको तर्फबाट बहस सकिएपछि अब पूर्व डिआइजी छविलाल जोशीका वकिलहरूले आफ्नो पक्ष राख्न थालेका छन्। हाल वरिष्ठ अधिवक्ता शम्भु थापा बहस गरिरहेका छन्।
छविका वकिलहरूको बहसपछि सरकारी पक्षका वकिलहरूले जवाफ दिने कार्यक्रम रहेको छ। यद्यपि, आजै मुद्दाको बहस सकिने सम्भावना कम देखिन्छ ।