काठमाडौं–पिएसजीलाई हराउँदै युरोपियन च्याम्पियन रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटर्फाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेग अन्तर्गत मंगलबार राति पेरिसमा भएको खेलमा फ्रेन्च लिग वान फुटबल लिडर पेरिस सेन्ट–जर्मेन पिएसजीलाई उसकै मैदानमा २–१ ले हराउँदै समग्रमा ५–२ को जितसहित स्पेनिस क्लब रियल मड्रिडले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।


ADVERTISEMENT


यसअघि घरेलु मैदानमा भएको पहिलो लेगमा रियल ३–१ ले विजयी भएको थियो । दोस्रो लेगमा रियललाई जिताउन स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र कास्मेइरोले गोल गरे । पिएसजीका लागि एडिसन काभानीले एक गोल गरेका थिए । नेइमार बिनाको पिएसजीले पहिलो हाफमा भ्रमण टोली रियललाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा रोक्न सकेन ।


ADVERTISEMENT

# # #


खेलको ५१ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै खेलमा भ्रमणकारी टोलीलाई अग्रता दिलाए । त्यसपछि ६६ औँ मिनेटमा वेर्राट्टी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पिएसजी १० खेलाडीमा सीमित भयो । तर त्यसको पाँच मिनेटपछि काभानीले पिएसजीका लागि बराबरी गोल फर्काए ।

१० खेलाडी भएको फाइदा उठाउँदै ८० औँ मिनेटमा कास्मेइरोले रियलका लागि दोस्रो गोल गरेपछि खेलमा २–
१को अग्रता लियो । त्यसपछि खेलमा कुनै तर्फबाट गोल भएन र रियल दोस्रो लेगमा पनि विजयी हुँदै सहज रुपमा अन्तिम ८ मा स्थान बनाउन सफल भयो ।

घरेलु लिगमा लगभग उपाधि नजिक रहेको पिएसजी च्याम्पियन्स लिगमा भने कमजोर देखियो । रियल भने ला लिगामा तेस्रो स्थानमा छ, साबिक विजेता रियल शीर्ष स्थानको बार्सिलोना भन्दा १२ अंकले पछि रहेको छ ।

कोपा डेल रेको क्वाटरफाइनलबाटै बाहिरीएको रियल मड्रिडको यो सिजन उपाधिको आश अब च्याम्पियन्स लिग फुटबलमा मात्रै अडिएको छ ।