काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा देखिएको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक विरुद्व ‘अफवाह’ फैलाएको कांग्रेसको दाबी छ ।
पार्टीले यो विषयमा मन्त्री लेखकको कुनै संलग्नता नपाइएको स्पष्ट गर्दै आधारहीन टिप्पणीप्रति आपत्ति जनाएको हो ।
आइतवार कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता डा प्रकाशशरण महतले भने, “गृहमन्त्रीविरुद्ध कतैबाट पनि संलग्नता पुष्टि हुने प्रमाण छैन। सामाजिक सञ्जाल र केही नेताहरूको हचुवाको भरमा राजीनामा माग गर्नु अनुचित हो।”
उनका अनुसार अध्यागमन विभागमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छापामारी र त्यसपछिका घटनाक्रमहरूबारे गृहमन्त्री स्वयंले संसद र सार्वजनिक रूपमा प्रस्टिकरण दिनेछन्।
कांग्रेसले छानबिन प्रक्रिया समाप्त नभएसम्म कसैलाई दोषारोपण गर्नु अन्यायपूर्ण भएको बताउँदै यस्ता संवेदनशील विषयमा संयमित र जिम्मेवार धारणा आवश्यक रहेको जोड दिएको छ।
गृहमन्त्री लेखकमाथि चलाइएको प्रचारबाजी तथ्यभन्दा टाढा र नियतवश प्रेरित देखिएको पार्टीको निष्कर्ष भएको उनले जनाए । यसले सरकार र प्रशासनको प्रतिष्ठा कमजोर पार्ने प्रयास गरेको कांग्रेसको आरोप छ।