काठमाडौं–आज(बुधबार)देखि साझा यातायातले काठमाडौं उपत्यकामा सेमी लो फ्लोर बस संचालन गर्ने भएको छ । माघ २२ गते साझाले बस ल्याएको थियो । बसले रुट इजाजत पाइसकेको साझाका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए । उनका अनुसार अस्पतालहरुलाई मध्यनजर गर्दै बसको रुट निर्धारण भएको छ । जसअनुसार पाटन अस्पताल लगनखेलदेखि गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारीसम्म बस संचालन हुनेछ ।


ADVERTISEMENT


अल्का, निदान, प्रसुती गृह, नर्भिक, त्रिपुरेश्वर आँखा अस्पताल, बीर, कान्ति बाल, टिचिङ लगायतका अस्पतललाई मध्यनजर गर्दै बसको रुट तय भएको छ । लगनखेल, त्रिपुरेश्वर, शहीदगेट, लाजिम्पाट, नारायणगोपालचोक हुँदै बस बाँसबारीसम्म पुग्नेछ । फर्कँदा पनि सोही रुट हुँदै लगनखेलसम्म आउनेछ ।


ADVERTISEMENT

# # #


साझाका अनुसार बस अपांगमैत्री भएकाले अस्पतालहरुलाई लक्षित गर्दै रुट तय गरिएको हो । त्यस्तै यो रुटको सडक पनि केही सहज देखिएकाले बसलाई उपयुक्त रहेको साझाले जनाएको छ । ‘यो बस मुख्यतः अपाङ्गमैत्री छ । अरु गाडीमा उक्लिनको लागि २–३ स्टेप चढ्नु पर्नेमा यो गाडीमा एक स्टेप मात्र छ । आवश्यकता अनुसार त्यो स्टेपलाई पनि फोल्ड गरी सतह बनाएर ‘ह्विल चियर’ सजिलै छिराउन सकिन्छ । १२ मिटर लम्बाइ रहेको यो गाडी अरु भन्दा ठूलो रहेकोले एकै पटक धेरै जनाले यात्रा गर्न सक्छन् ।

ड्राईभर सहित ४१ सिट क्षमताको यस सेमी लो फ्लोर बसको सिट पनि पहिलेको भन्दा फरक र ‘प्यासेन्जर फ्रेन्डली’ छ । यो गाडीको अर्को मूख्य विशेषता भनेको ‘ड्राइभर एनाउन्समेन्ट’ सिस्टम हो । यसले गर्दा ड्राइभरले प्यासेन्जरलाई गाडी कहाँ पुग्यो भन्ने कुरा जानकारी दिन्छन् ।

अन्य साझामा भएका क्यामरा, डिस्प्ले, लगायतका सुविधा यसमा पनि छन् । यो बस गियररहित भएकोले ड्राईभरलाइ ट्राफिकमा सजिलो हुने साझाले जनाएको छ ।

यो बसलाई वीरगंज भन्सारबाट ६२ फुटको ट्रेलरमा राखेर नेपाली चालक सेख तबरेजले ल्याएका थिए ।