काठमाडौं – साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजारमा उत्साह देखिएको छ ।

नेप्से परिसूचक १५ दशमलव ३९ अंकले बढेर २ हजार ६३८ अंकमा पुगेको छ । अघिल्लो दिन सामान्य २ दशमलव २६ अंकले बढेको बजारमा मंगलबार कारोबार रकमसमेत उल्लेख्य वृद्धि भएको हो ।


ADVERTISEMENT

# #


सोमबार ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार बढेर ५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । दिनभर कारोबार भएका कम्पनीमध्ये १६५ वटाको सेयर मूल्य बढ्दा १११ वटाको घटेको छ भने तीन कम्पनीको मूल्य स्थिर रहेको छ ।

बजार वृद्धिमा सबैभन्दा ठूलो योगदान बैंकिङ समूहको देखिएको छ । कुल बजार पुँजीकरणमा ठूलो हिस्सा रहेको बैंकिङ समूह १ दशमलव २४ प्रतिशतले बढेको छ । यससँगै विकास बैंक १ दशमलव ०४, होटल तथा पर्यटन ० दशमलव ९४ र व्यापार समूह ० दशमलव ९७ प्रतिशतले बढेका छन् ।


ADVERTISEMENT

#
#


त्यस्तै जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र फाइनान्स समूह पनि सामान्य बढेका छन् । माइक्रोफाइनान्स ० दशमलव १८ र अन्य समूह ० दशमलव ३९ प्रतिशतले घटेका छन् ।

कारोबार रकमका आधारमा जलविद्युत् समूह अग्रस्थानमा रहेको छ । उक्त समूहका कम्पनीहरूको १ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा बैंकिङ समूहमा १ अर्ब ६५ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

मंगलबार एभरेस्ट कलरको सेयर मूल्य सर्वाधिक ५ दशमलव ०५ प्रतिशतले बढेको छ । त्यस्तै माउन्टेन हाइड्रो नेपाल, सिटी होटल र जनउत्थान सामुदायिक लघुवित्तलगायत कम्पनीको मूल्यमा पनि वृद्धि भएको छ ।

यता मानुषी लघुवित्तको सेयर मूल्य सर्वाधिक ८ प्रतिशतले घटेको छ । मेन्छियाम हाइड्रोपावर, ओम मेगाश्री फर्मास्युटिकल्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सलगायत कम्पनीको मूल्यमा समेत गिरावट आएको छ ।

कारोबार रकमका आधारमा सोल्टी होटल, ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन डिस्टिलरी र रिलायन्स स्पिनिङ मिल्स अगाडि रहेका छन् ।

मंगलबारको कारोबारले बैंकिङ समूहप्रति लगानीकर्ताको आकर्षण बढेको देखाएको छ भने समग्र बजारमा कारोबार रकमसहित सकारात्मक गति देखिएको छ ।