ललितपुर – महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा वर्षौंदेखि स्थानीयवासीले भोग्दै आएको सडक समस्याको समाधान हुने भएको छ। हाम्रो पाठशाला स्कुलदेखि विनायक फुटसलसम्मको करिब ६ मिटर चौडाइको सडक ढलान कार्य सुरु भएसँगै स्थानीयवासीमा उत्साह छाएको छ।

नगरपालिकाको करिब ५० लाख रुपैयाँ बजेटमा निर्माण भइरहेको उक्त सडक ढलान कार्यले लामो समयदेखि हिलो, धुलो र आवागमनको असहजता भोग्दै आएका स्थानीयलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।


ADVERTISEMENT

# #


निर्माणाधीन सडकको महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जन र वडा नम्बर ७ का अध्यक्ष बाबुराजा महर्जनले स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनीहरूले निर्माण कार्यको अवस्था र प्रगतिबारे जानकारी लिएका थिए।

वडा अध्यक्ष बाबुराजा महर्जनले हिमालय पोस्टसँग कुराकानी गर्दै सडक निर्माण सुरु भएसँगै स्थानीयवासीमा हर्ष र उत्साह छाएको बताए। उनले यो सडक स्थानीय बस्तीका लागि मात्र नभई चाँगाथली र टिकाथली जोड्ने वैकल्पिक मार्गका रूपमा समेत महत्वपूर्ण रहेको उल्लेख गरे।


ADVERTISEMENT

#
#


‘यो सडक निर्माण स्थानीयवासीको लामो समयदेखिको अपेक्षा र आवश्यकता हो। सडक ढलान कार्य सुरु भएसँगै वडावासीमा खुसी छाएको छ। चाँगाथली र टिकाथलीलाई जोड्ने वैकल्पिक मार्गका रूपमा समेत यसको विशेष महत्व छ। यसले स्थानीयको आवागमन सहज बनाउनुका साथै क्षेत्रको विकासलाई थप गति दिनेछ,’ अध्यक्ष महर्जनले भने।

उनले वडाको समग्र विकास, पूर्वाधार विस्तार र स्थानीयको आवश्यकता सम्बोधन गर्ने उद्देश्यसहित विकास निर्माणका कामलाई प्राथमिकताका साथ अगाडि बढाइएको बताए।

सडक ढलान सम्पन्न भएपछि स्थानीयवासीको दैनिक आवागमन सहज हुनुका साथै विद्यालय जाने विद्यार्थी, पैदलयात्री तथा सवारीसाधनलाई समेत सुविधा पुग्नेछ। चाँगाथली र टिकाथलीबीचको वैकल्पिक सडक सम्पर्क थप सहज बन्ने भएकाले यस क्षेत्रको भौतिक विकास र सहरी विस्तारमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

वर्षौंदेखिको सडक समस्या समाधान गर्ने दिशामा अघि बढेको यो आयोजनालाई स्थानीयवासीले महालक्ष्मी नगरपालिका–७ को महत्वपूर्ण पूर्वाधार विकासका रूपमा लिएका छन्।