धनगढी – बिहीबार सहरमा नारी दिवसको रमझममा कोठे बैठक, प्रभातफेरि र ठाउँठाउँमा महिला हिंसाविरुद्धका प्रवचन भइरहेका बेला कैलालीको घोडाघोडी नगरपालिका ५ की १८ वर्षीया युवतीमाथि निर्घात कुटपिट भइरहेको थियो।


ADVERTISEMENT


एकातिर भोलेबाबा नाम गरेका स्थानीय गुरुवा रामबहादुर चौधरी नागको जस्तो हात गर्दै किशोरीको पिठ्युमा बजारी रहेका थिए भने आफूलाई बोक्सी लगाएको आरोप लगाउने पार्वती चौधरी र उनकै आफन्त किस्मती चौधरी पनि युवातीको पेट र संवेदनशील अंगमा मुड्की र लात्ताले प्रहार गरिरहेका थिइन्।


ADVERTISEMENT

# # #


भएभरको शक्ति लगाएर स्थानीय जनप्रनिधिले गाउँघरमै घटना मिलाउने तयारी गरेपछि घटना ढिलागरी सार्वजनिक भएको हो। फागुन २४ गते महिला दिवसकै दिन बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट गरिएकी युवतीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

‘स्थानीय गुरुवा रामबहादुर चौधरीले आफ्नो घरमा भएको पूजामा नआएको भन्दै बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट गरेका हुन’, एक स्थानीयले भने, ‘स्थानीय जनप्रतिनिधिको दबाबमा घटना मिलाउन खोजिए पनि मानवअधिकारकर्मीको रोहबरमा किशोरीलाई सेती अञ्चल अस्पताल भर्ना गरिएको हो।’ कुटपिट गर्ने गुरुवा रामबहादुरलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलाली ल्याएको छ।

किशोरीलाई कुटपिट गरिएको भिडियो सार्वजनिक भएको छ। युवतीलाई निर्मम कुटपिट गर्दा स्थानीय सयौंको संख्यामा भेला भएर रमिता हेरिराखेका छन्। भिडियोमा गुरुवासँगै कुटपिटमा संलग्न किस्मती चौधरीलाई भने प्रहरीले अझै पक्राउ गरेको छैन।