काठमाडौं–स्वेच्छिक अवकाशका लागि निवेदन दिने निजामती कर्मचारीको संख्या ९ हजार ५ सय ९१ पुगेको छ ।आइतबार साँझसम्मको रेकर्डमा स्वेच्छिक अवकाश लिने कर्मचारीको अन्तिम सूची ९ हजार ५ सय ९१ पुगेको संघीय तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयकी सहसचिव नीता पोखरेलले स्वेच्छिक अवकाश लिने कर्मचारीको सूचना संकलन आइतबार साँझ पूरा भएको बताइन् । उनले भनिन्, ‘आइतबारसम्म हामीले देशभरबाट सूचना संकलन गरेका छौं । अब सूचना संकलन गर्ने काम पूरा भएको छ ।’


ADVERTISEMENT

# # #


मन्त्रालयका सूचना अधिकारी सुप्रभा खनालले स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीको अन्तिम सूची ९ हजार ५ सय ९१ पुगेको बताइन् । ‘यो सख्या अन्तिम हो, अब घटबढ हुँदैन’, उनले भनिन् । मन्त्रालयले यसअघि स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीको संख्या आठदेखि १० हजार पुग्ने अनुमान गरेको थियो ।

मन्त्रालय स्रोतका अनुसार स्वेच्छिक अवकाशका लागि २२ हजार निजामती कर्मचारी योग्य छन् । निवेदन दिने कर्मचारीमध्ये अधिकांश श्रेणीविहीन, कार्यालय सहयोगी तथा चालक रहेको मन्त्रालयको भनाइ छ । यद्यपि माथिल्लो पदका कर्मचारीले पनि स्वेच्छिक अवकाशका लागि निवेदन दिएका छन् ।

गत पुस २८ गते निजामती कर्मचारी समायोजन ऐन २०७४ बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीले सूचना प्रकाशित भएको ४५ दिनभित्र स्वेच्छिक अवकाशका लागि निवेदन दिन आग्रह गरिएको थियो । निवेदन दिन २० वर्ष सेवा अवधि र ५० वर्ष उमेर पुगेका योग्य मानिएका छन् । –आजको नागरिक दैनिकबाट