काठमाडौं–आइतबार बोर्नेमाउथविरुद्ध ४–१ को जीत निकाल्ने क्रममा घाइते भएका इंग्ल्याण्डका स्ट्राइकर ह्यारी केनको खुट्टाको सोमबार थप परिक्षण हुने भएको छ ।


ADVERTISEMENT


गोलकिपर अस्मिर बेगोभिचसँग ठोक्किएपछि २४ वर्षीय केनको खुट्टामा चोट लागेको थियो । जसका कारण उनले खेलको ३० औँ मिनेटमा मैदान छाड्न परेको थियो ।


ADVERTISEMENT

# # #


‘आशा छ यो ठूलो समस्या होइन,’ स्पर्सका प्रशिक्षक माउरिसियो पोचेटिन्होले भने, ‘हामी चिन्तित छौँ तर यसका लागि पर्खनुपर्ने हुन्छ ।’ स्पर्सले शनिबार एफए कपमा स्वान्सी सिटीको सामना गर्दैछ भने यसबीचमा इंग्ल्याण्डले दुईवटा मैत्रीपूर्ण खेलहरु खेल्नेछ ।

ग्यारेथ साउथगेटको टोली शुक्रबार नेदरल्याण्ड जानेछ भने त्यसपछि इटालीको आतिथ्य गर्नेछ । खेलमा इंग्ल्याण्डका फरवार्ड डेले अली पनि चोटग्रस्त बन्दै मैदान छाडेका थिए ।

गत सिजन केनको दाहिने खुट्टामा चोट लाग्दा स्पर्सका लागि १० खेल गुमाएका थिए भने इंग्ल्याण्डको विश्वकप छनौटका दुई खेल गुमाएका थिए । केनले यो सिजन स्पर्सका लागि ३५ गोल गरेका छन् ।