काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुपर्ने जनाएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका प्रवक्ता मनिष झाले कुलिङ अफ पिरियडको बारेमा विशेष छानविन समितिले राज्य व्यवस्था समितिका सभापतिमाथि नैतिक प्रश्न उठाएको भन्दै अब सभापतिले राजीनामा दिनुपर्ने बताए । विशेष छानविन समितिको प्रतिवेदनमा आफ्नो नाम छैन भनेर उम्किन नमिल्ने उनको भनाइ छ ।
त्यस्तै प्रवक्ता झाले भिजिट भिसा प्रकरणमा मानव बेचबिखन नै भएको यसअघिको छानविन समितिले उल्लेख गरेको भन्दै आफुहरुले उठाएका विषयको औचित्य पुष्टि हुदै गएको जिकिर गरे ।
भिजिट भिसा प्रकरणमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै बुधबार पनि रास्वपा सांसदहरुले सदन बहिष्कार गरेका छन् ।































































