काठमाडौँ– जिम्बावेमा जारी विश्वकप छनोटको प्लेअफ अन्तर्गतको खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)माथि शानदार जित दर्ता गरेको छ । एक दिवसीय मान्यता(ओडीआई)को खोजीमा रहेको नेपालले सातौँ/आठौँ स्थानका भएको खेलमा पीएनजीलाई ६ विकेटले पराजित गरेको छ ।


ADVERTISEMENT


११५ रनको सामान्य लक्ष्य पच्छ्याएको नेपालले २३ ओभरमा ४ विकेटको क्षतीमा लक्ष्य पूरा गरेको हो । दिपेन्द्र सिंह ऐरीले विजयी छक्का प्रहार गर्दै व्यक्तिगत अर्धशतक पूरा गरे ।


ADVERTISEMENT

# # #


यसअघि हरारेको हरारियन मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले नेपालसामू राम्रो सुरुवात गर्न सकेन । नेपाली बलरसामू पीएनजीका ब्याट्समेन पूरै निरीह देखिए । उसले २७.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र ११४ रन बनाउन सक्यो । पीएनजीको कुनै पनि ब्याट्समेनले २० रन छुन सकेनन् ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनीहरुले समान ४/४ विकेट लिए । ४.३ ओभर बलिङ गरेका ऐरीले मात्र १४ रन खर्चिए भने ८ ओभरमा सन्दीप लामिछानेले २९ रन दिए ।

पीएनजीले २.३ ओभरमा १२ बनाउँदै आफ्नो पहिलो विकेट गुमाएको थियो । नेपालका लागि सोमपाल कामीले पहिलो सफलता दिलाएका थिए।

उनले असाड भालालाई व्यक्तिगत १० रनमा आउट गरे। सोमपाल कामीले खेलको २.३ ओभरमा १२ रन हुँदा एलबीडब्लुको धरापमा पारेका हुन् । भालाले २ चौका प्रहार गरेका थिए । यस्तै करण केसीले नेपालका लागि दोस्रो विकेट लिए । उनले टोनी उरालाई व्यक्तिगत ११ रनमा पेवेलियनको बाटो देखाए । विकेटकिपर अनिल शाहबाट क्याच हुनुअघि उराले २३ बलमा एक चौका प्रहार गरेका थिए ।

यस्तै सन्दीप लामिछानेले चाद सपुर, सीसी बाउ, महरु दाई र किप्लिन गोरिगालाई क्रमशः १०, ११, ५ र १० रनमा आउट गरे । यस्तै दिपेन्द्र सिंहले इनिङकै उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमै ४ विकेट चट्काए । चार्लेस अमिनीलाई १९ रनमा आउट गरेका उनले जेसन किला र जोन रिभालाई क्रमशः १५ र ६ रनमा आउट गरे । यस्तै नर्भन भानुवा खातै खोल्न नपाई बोल्ड भए ।

यता ११५ रनको सामान्य लक्ष्य पच्छ्याएको नेपालको सुरुवात भने राम्रो हुन सकेन । सँधै झै आज पनि ओपनिङ चल्न सकेन । पछिल्लो समय खराब फर्मबाट गज्रिरहेका उपकप्तान ज्ञानेन्द्र मल्ल आज पनि सस्तैमा समेटिए । जम्मा ३ बल खेलेका उनी १ रनमा आउट भए । त्यस्तै अनिल कुमार शाहले पनि आफ्नो फर्मलाई निरन्तरता दिन सकेनन् । ११ बलमा एक चौका प्रहार गर्दै ९ रनमा उनी आउट भए ।

कप्तान पारस खड्काले आक्रामक खेल्न खोजेपनि धेरै टिक्न सकेनन् । १८ बलमा एक छक्का र २ चौका प्रहार गर्दै उनी २० रनमा आउट भए । पारस आउट भएपछि नेपाल केही दबाबमा आयो । ६.५ ओभरमा ३५ रन बनाउँदा नेपालको ३ विकेट गयो । त्यस पछि आएका आरिफ सेखले दिपेन्द्र सिंह ऐरीसंग महत्वपूर्ण साझेदारी गरे ।

यी दुई युवा स्टारले ८४ बलमा ६७ रनको अति महत्वपूर्ण साझेदारी गरेर टिमको साख जोगाए ।  आरिफ सेखले ४२ बलमा २६ रन बनाउनु अघि एक चौका प्रहार गरे । नेपालले २१ ओभरको समाप्तीमा १०२ रन बनाउँदा आरिफ सेखलाई गुमायो । जतिबेला टिमको जित निश्चित भइसकेको थियो ।

यता म्यान अफदि म्याच भएका दिपेन्द्र सिंहको आजको प्रदर्शन शान दार रह्यो । पीएनजीलाई सस्तैमा समेट्ने क्रममा ४ विकेट लिएका उनले ब्याटिङ तर्फ ५८ बलमा अविजित ५० रन बनाएर अन्तराष्ट्रिय क्रिकेटमा आफ्नो जीवनको दोस्रो अर्धशतक प्रहार गरे । उनले आज एक चौका र ३ छक्का प्रहार गरेर नटआउट रहे । यस्तै हङकङसंगको खेलका म्यान अफ दि म्याच रोहित कुमार पौडेल ३ रनमा नट आउट रहे ।

अब नेपालले सातौँ स्थानका लागि हङकङ र नेदरल्याण्डबीचको विजेतासंग पर्सी प्रतिस्पर्धा गर्नेछ ।

यदि आज भइरहेको नेदरल्याण्ड र हङकङबीचको खेलमा नेदरल्याण्ड विजयी भए नेपालले वर्षौँ देखि देखेको एक दिवसीय मान्यताको सपना आजै पूरा हुनेछ । तर हङकङ पराजित भए ओडीआईका लागि फेरि हङकङको सामना गर्नुपर्ने हुन्छ ।