काठमाडौं–प्रदेश नम्बर ४ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री रामशरण बस्नेतले ठूलठूला राजनीतिक क्रान्ति र आन्दोलन गरे पनि आफ्नै आँगन सफा गर्न हामी नेपालीहरु असफल भएको बताएका छन् । पोखरामा शनिबार बृहत सरसफाइ अभियानको ९४ औं श्रृंखलाअन्तर्गत पोखरा १ बगरस्थित गाईघाटमा गरिएको सरसफाई कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री बस्नेतले क्रान्ति र आन्दोलनबाट राजालाई फाल्न सक्ने नेपालीले घरकै आँगनको फोहोर फाल्न नसक्नु दुःखद भएको बताए ।


ADVERTISEMENT


अब अब आँगन सफा गर्न पनि सफलता पाउनुपर्ने उनले बताए । मन्त्री बस्नेतले भने, ‘हामीले धेरै ठूलठूला क्रान्ति र आन्दोलन गर्‍यौं, राजालाई पनि हरायौं, तर आँगन सफा गर्न सकेनौं ।’ मन्त्री बस्नेतले फोहोर सभ्यता र समृद्धिको शत्रु भएको टिप्पणी गरे । सफा र स्वच्छ वातावरण निर्माण नगरेसम्म नागरिक सभ्य नहुने र देशमा समृद्धि नआउने ठोकुवा गर्दै उनले भने, ‘समृद्धिको कुरा गरिरहँदा पहिले सफा र स्वच्छ वातावरण हुनुपर्छ, त्यो भएन भने समृद्धि सम्भव छैन ।’


ADVERTISEMENT

# # #


प्रदेश नम्बर ४ पर्यटकीय क्षेत्र भएकाले यहाँ सफा नराखे पर्यटक आउँदैनन् र पर्यटक आएनन् भने आम्दानी पनि हुँदैन भन्दै मन्त्री बस्नेतले अगाडि भने– पर्यटक नआए समृद्धि पनि आउँदैन ।’ सरसफाइ अभियानमा खटिएका मन्त्री बस्नेतले थपे, ‘म नमस्कार गरेर भन्छु, घर सफा राखौं, घर सफा भयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने नगर सफा हुन्छ, नगर सफा भयो भने जिल्ला सफा हुन्छ र जिल्ला सफा भयो भने प्रदेश सफा हुन्छ । त्यस्तो भयो भने मात्र पर्यटक आउँछन्, हाम्रो कमाइ हुन्छ र समृद्धि पनि आउँछ ।’

कार्यक्रममा मन्त्री बस्नेतले हप्ताको एकघण्टा राष्ट्रका लागि सरसफाई अभियानमा जुट्ने प्रतिवपद्धता जनाउँदै त्यसमा सबैलाई होमिन आग्रह गरे । सरसफाई अभियन्ता नागरिक समाज पोखराका अध्यक्ष रामबहादुर पौडेलले सामाजिक रुपान्तरणसँगै सरसफाई सम्बन्धी जनचेतना जगाउन सरसफाई अभियान जारी राखिएको बताए । कार्यक्रममा सरसफाई अभियानमा निरन्तर सहभागी भई सहयोग गर्ने नेपाली सेनाको सिद्धिबक्स गण, सशस्त्र प्रहरीको प्रदेश नम्बर ४ को कार्यालय, सशस्त्र प्रहरीकै कालिका गण, नेपाल प्रहरी, मुक्तिनाथ विकास वैंक, सञ्चारकर्मी खिमा गुरुङ र ड्यामसाइड टोल विकास संस्थाकी अध्यक्ष तथा सामाजिक अभियन्ता शिवमाया श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका अवसरमा मन्त्री बस्नेत एक घण्टा सरसफाइमा संलग्न भएका थिए ।