काठमाडौं – नेपाल आइडल सिजन–२’ भोली (मंगलबार)बाट सुरु हुँदै । भैरहवामा अडिसन सुरु गर्दै नेपाल आइडलको सिजन–२ सुरु हुन लागेको हो ।


ADVERTISEMENT


भैरहवाको जेसिस किन्डर गार्डेन हाइस्कुलमा मंगलबार अडिसन लिने नेपाल आइडल युनिटले चैत ११ गते धनगढीमा अडिसन लिनेछ । धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमीमा अडिसन लिने बताएको छ । वैशाख ३ गते हेटौंडाको सिद्धार्थ सेकेन्डरी स्कुलमा अडिसन लिने नेपाल आइडल युनिट वैशाख ८ गते धरानको विष्णु मेमोरियल हाइयर सेकेन्डरी स्कुल पुगेर सहभागी प्रतिस्पर्धीको आवाज सुन्नेछ । वैशाख १४ गते पोखराका संगीतप्रेमीले श्री जनप्रिय सेकेन्डरी स्कुल पुगेर अडिसन दिन सक्नेछन् । काठमाडौं अडिसनको मिति भने तोकिएको छैन ।


ADVERTISEMENT

# # #


अडिसन राउन्डमा चित्तबुझ्दो स्वर भएका सहभागीलाई निर्णायकले काठमाडौं बोलाउने छन् । काठमाडौंमा विभिन्न राउन्ड हुँदै नेपाल आइडल युनिटले सिजन–२ को आइडल छान्नेछ । सिजन–२ मा पनि पुरानै निर्णायक दोहोरिने नेपाल आइडलका प्रवन्ध निर्देशक लक्ष्मीप्रसाद पौडेलले बताए । गतवर्ष न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक थिए ।

कार्यक्रम सञ्चालक रिमा विश्वकर्मा र सुशील नेपालमध्ये एक जनालाई परिवर्तन गरिएको छ । नायिका रिमा विश्वकर्मा यथावत् रहेपनि सुशील नेपाल भने सिजन–२ मा देखिने छैनन् । नेपाललाई आसिफ शाहले रिप्लेस गरेका छन् । आसिफ यही वर्ष प्रदर्शनमा आएको चलचित्र ‘२–रुपैयाँ’ का नायक हुन् । आसिफ म्युजिक भिडियो निर्देशकसँगै गायक र टेलिभिजन कार्यक्रम प्रस्तोता पनि हुन् ।

हजारौं प्रतिस्पर्धीबाट सिजन–१ को नेपाल आइडल साढे ४ करोड भोट पाएर पोखराका बुद्ध लामा बन्न सफल भएका थिए । आयोजकका अनुसार ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ मत आएको थियो । जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै पहिलो नेपाल आइडल लामाले जितेका थिए ।

फष्ट रनरअप मोरङका निशान भट्टराई हुँदा सेकेन्ड रनरअपमा ललितपुरका प्रताप दासले बाजी मारेका थिए ।

उपाधिसँगै लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका थिए । साथै १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट दिने नेपाल आइडलले जनाएको थियो । यद्यपि लामाले केही दिन अगाडि आफूलाई नेपाल आइडलले गाडी नदिएको भन्दै सञ्चारमाध्यमसँग गुनासो गरेका थिए ।

यता यसबारेमा प्रवन्ध निर्देशक पौडेलले गाडी अहिले पनि बुद्धसँगै पोखरामा रहेको बताए । “आन भर्खरै मात्र पनि बुद्धसँग मेरा कल भएको थियो । सम्झौता अनुसार उसले गाडीको कर तिर्नुपर्छ । अरु हामीले घोषणा गरेको नगद तथा एल्बमको कन्ट्रयाक साइन अनुसार दिएका छौं,” पौडेलले भने, “बुझाईमा कमजोरी भएको हो । तीन दिनपछि बुद्ध यहीँ आउने कुरा छ । त्यसपछि सबै कुरा मिल्छ ।”

निशानले १५ लाख रुपैयाँ नगद पाउँदा प्रतापले १० लाख रुपैयाँमा चित्त बुझाएका थिए । फाइनल कतारको राजधानी दोहामा भएको थियो । यो वर्ष भने फाइनल नेपालमा हुनेछ ।

यो वर्षको नेपाल आइडलले भने गाडी पुरस्कार नपाउने भएका छन् । प्रवन्ध निर्देशक पौडेलले भने, “गाडी दिँदा समस्या भयो । यो वर्षबाट हामी गाडिको सट्टा पैसा नै दिने छौं । ५० हजार नगद, एल्बमका र वल्र्ड टुर गरिदिने छौं ।”

गत वर्षझैं यो वर्ष पनि एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनोट गरिने नेपाल आइडलले जनाएको छ । शो एपीवान टेलिभिजनले प्रशारण गर्नेछ । कार्यक्रम झण्डै ६ महिना सञ्चालन हुनेछ । नेपाल आइडल नेपालमा सञ्चालन भएको अहिलेसम्मकै ठूलो सांगीतिक रियालिटी शो हो ।