काठमाडौं – कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया सुरु गरेको छ ।

कम्पनीले मंसिर १० गतेदेखि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ लाख कित्ता सेयर काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नम्बर ७ का स्थानीय बासिन्दाका लागि छुट्याएको छ । उक्त सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गरिएको हो ।


ADVERTISEMENT

# #


त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ९० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको छ ।

स्थानीय बासिन्दाले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने न्यूनतम १० देखि अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।


ADVERTISEMENT

#
#


स्थानीय बासिन्दाका लागि आईपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा मंसिर २४ गते र ढिलोमा पुस १३ गते तोकिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा पूर्ण आवेदन नपरे निष्कासन अवधि मंसिर २४ गतेसम्म लम्बिनेछ ।

आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले मुक्तिनाथ विकास बैंक र सिन्धु विकास बैंकका बनेपा तथा पाँचखाल शाखाबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आस्बा प्रणाली तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ । कम्पनीको आन्तरिक प्रतिफल दर २४.२७ प्रतिशत रहेको विवरणमा उल्लेख छ ।