जाजरकोट– साविकको रग्दा गाविस– ४ रोलीका बासिन्दा आसन्न स्थानीय तहको निर्वाचनमा राजीतिभन्दा टाढा रहेर आफ्नो क्षेत्रमा टेलिफोन सेवा उपलब्ध गराउने दललाई भोट दिन एकजुट भएका छन् ।


ADVERTISEMENT


अहिले त्रवेणी, नलगाड नगरपालिकाभित्र परेका उनीहरुले जुन दलका प्रतिनिधिले गाउँमा टेलिफोन टावर बनाउने प्रतिबद्धता जनाउँछ सोही दलका स्थानीय नेतालाई मतदानमा सघाउने भएका हुन् ।  सहर तथा विदेशमा रहेका आफन्तलाई सम्पर्क गर्नुपरे एक कल फोन गर्न आतेजाते गरी चार सय रुपैयाँ खर्चेर रुकुमको राडीबजार गएर फोन गर्नुपर्ने बाध्यता भएपछि टोलिफोनको टावर निर्माणका लागि राजनीतिक दलका नेतादेखि सम्बन्धित निकायमा अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि उनीहरुले यस्तो निर्णय लिएका हुन् ।


ADVERTISEMENT

# # #


उक्त गाउँमा अहिलेसम्म न विद्युत् सेवा छ नत सञ्चार सुविधा नै । जाजरकोट– डोल्पा बाटोले सो गाउँलाई छोएपनि नियमित र भरपर्दो यातायात सेवा पनि सञ्चालन भएको छैन । “स्थानीय निकायको पुनःसंरचनापछि गाउँको विकासका लागि यहाँका बासिन्दा एकजुट भएका हौँ । ” रोलीका नरबहादुर ध्यारले भने, ‘‘गाउँमा टेलिफोनको टावर नहुँदा फोनले काम गदैन । टेलिफोन गर्न चार घन्टा पैदल हिँडेर रुकुमको राडीबजार जानुपर्छ त्यसैले हाम्रो समस्या बुझ्ने र तत्काल टेलिफोनको टावर बनाउन पहल गरिदिने नेता र पार्टीलाई भोट दिन्छौ ।’’

जिल्लाको त्रिवेणी नलगाड नगरपालिकाका रग्दा, रोली, चौखा गाउँमा सञ्चारका कुनै साधनले काम गर्दैन । पत्रपत्रिका र टेलिभिजनको त कुरै छोडौं ती गाउँमा रेडियो पनि सुन्न पनि पाइन्न । यी तीनवटा गाउँमा एफएम रेडियोको पहुँचसमेत छैन । चौखाका किशोर मल्लले भने– ‘‘एनटिसी, स्काइ र एनसेल कुनै पनि फोनले काम गर्दैनन्। फोन सुविधा नहुँदा यहाँका बासिन्दा समस्यामा छन् । ’’

“यसपटकको स्थानीय तहको निर्वाचनमा जसले हाम्रो मागलाई सम्बोधन गर्छ त्यसैलाई जिताउँछौ।” मल्लले भने, “जुन नेता र पार्टीले विश्वास दिलाउँछ पूरै गाउँलेले त्यही पार्टीलाई भोट हाल्ने निर्णय भएको छ । ”

गत संविधान सभाको निर्वाचनमा काँग्रेस, एमाले, (माओवादी केन्द्र) लगायतका पार्टीका उम्मेदवारले यहाँको टेलिफोन समस्या समाधानका लागि टावर निर्माणमा पहल गर्ने प्रतिवद्धता गरेका थिए ।  चुनावपछि कुनै पनि नेता यहाँ फर्केर आएका छैनन । स्वास्थ्य चौकी, विद्यालय, प्रहरी चौकी, खाद्य डिपोसहित रग्दा गाउँमा ६०, रोली गाउँमा ९१ र चौखा गाउँमा ४५ घर छन् तर ती गाउँमा टेलिफोन र सञ्चारका कुनै पनि साधनले काम नगर्दा स्थानीय बासिन्दा समस्यामा परेका हुन् ।

यसैबीच त्रिवेणी, नलगाड नगरपालिका खगेनकोट, मैदे, रग्दा र भगवतीका बासिन्दा खगनेकोटकै मनमाईमा नगरपालिकाको केन्द्र हुनुपर्नेमा जोड दिएका छन् । खगेनकोटका तिलकबहादुर खत्री नगरपालिकाको केन्द्र मनमईमा राख्न प्रतिवद्धता जनाउने उम्मेदवारलाई भोट दिने बताउँछन् उनी नेपाली काँग्रेसका पूर्व गाउँ कार्यसमिति सभापति हुन् । मनमईमा केन्द्र राख्न आफ्नै पार्टीमा पहल गरेपनि सफल नभएपछि उनी नेताप्रति आक्रोशित भएका छन् । राजपत्रमा त्रिवेणी, नलगाड नगरपालिकाको केन्द्र मनमईमा तोकिएको थियो ।

चैत १ गते सदरमुकाममा बसेको सर्वदलीय बैठकले राजपत्रमा प्रकाशित भएको ठाउँलाई परिवर्तन गरी पायक पर्ने भन्दै खगेनकोटकै दल्लीमा केन्द्र तोकेपछि खत्रीजस्तै मनमई, मैदे, खगनेकोट, रग्दा र भगवतीका बासिन्दा आक्रोसित भएका हुन् । आक्रोशित स्थानीयवासीले मनमई केन्द्र स्वीकार नगर्ने जुनसुकै पार्टीका उम्मेदवारलाई पनि भोट नदिने चेतावनी दिएका छन् । माओवादी केन्द्रका स्थानीय नेता समेत रहेका बुद्धि गुरुङले नगरको केन्द्रमा बदमासी गर्ने आफ्नै पार्टीका उम्मेदवारलाई पनि भोट नदिने प्रतिबद्धता जनाए ।

विवादका कारण दुई ठाउँमा केन्द्र उद्घाटन गरिए पनि हालसम्म उक्त नगरपालिकाका कार्यकारी अधिकृत सुरेन्द्र सिंहलगायतका कर्मचारी कार्यालय जान सकेका छैनन ।