काठमाडौं – काठमाडौं जिल्लामा कार्यरत ३२ सय प्रहरीमध्ये प्रत्येक महिना उत्कृष्ट काम गर्ने प्रहरी जवानदेखि डिएसपीसम्मले पुरस्कार पाउने भएका छन् । यसका लागि १० हजारदेखि ५० हजारसम्म नगद राशिको घोषणा भएको छ ।


ADVERTISEMENT


पुरस्कारको नाम ‘काठमाडौं पुलिस अवार्ड’ राखिएको छ । यो नेपाल प्रहरीमा देशभरकै सबैभन्दा ठूलो पुरस्कार राशि हो । नेपाल बंगलादेश बैंक र महानगरीय प्रहरी परिसरबीच पुरस्कारका लागि १८ लाख ६० हजार रुपैयाँको सम्झौता भएको छ । सम्झौता एक वर्षका लागि भएको हो ।


ADVERTISEMENT

# # #


सम्झौताअनुसार आगामी वैशाख १ गतेदेखि लागु हुनेगरी उत्कृष्ट काम गर्ने सीपाहीमध्ये एकजनालाई प्रत्येक महिना १० हजार, हवल्दारलाई १५ हजार, असईलाई २० हजार, सईलाई २५ हजार, इन्सपेक्टरलाई ३५ हजार र डिएसपीलाई ५० हजार रुपैयाँ पुरस्कार दिइनेछ । यसका लागि उनीहरुले गरेको कामलाई आधार मानिनेछ । पुरस्कार प्रदान गर्न छनोट समिति बनाइने र त्यही समितिले उत्कृष्ट कामको छिनोफानो गर्ने काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए ।

सम्झौतापत्रमा नेपाल बंगलादेश बैंकका कार्यकारी निर्देशक ज्ञानेन्द्रप्रसाद ढुङ्गाना र परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले हस्ताक्षर गरे । कार्यकारी निर्देशक ढुंगानाले सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको शान्ति सुुरक्षामा खटिने प्रहरीको मनोबल बढाउन आफूहरुले सहयोग गरेको बताए ।

एसएसपी पोखरेलले काठमाडौंलाई अपराधमुक्त राजधानीको रुपमा विकसित गर्न इमान्दार भएर काम गर्ने सबै दर्जाका लागि पुरस्कार गौरवको विषय बताए । उनले भने, “प्रहरी घुसखोरी र भ्रष्टाचारी होइनन् भन्ने प्रमाणित गर्न चाहन्छु ।”