काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक अब कुनै पनि बहानामा हिंसातर्फ होमिनु नहुने बताएकी छन् । पहिलोपटक संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपतिले उक्त कुरा बताएकी हुन् ।


ADVERTISEMENT


४१ प्रतिशत महिला सहभागिताले उत्साहबोध गरेको बताउँदै राष्ट्रपतिले नेपालका नयाँ परिवर्तनले अग्रगामी विकासमा जान प्रेरित गरेको बताइन्। नेपाली जनताको लामो संघर्ष, बलिदान र त्यागले राष्ट्र अब पूर्ण रुपमा जननिर्वाचित प्रतिनिधिहरुको अगुवाईमा विकास, समृद्धि र स्थिरतातर्फ जाने विश्वास रहेको राष्ट्रपति भण्डारीले बताइन् । विकास र समृद्धिको यात्रामा सबै एकताबद्ध हुनुपर्ने राष्ट्रपतिको भनाइ थियो ।


ADVERTISEMENT

# # #


यस्तै संविधान कार्यान्वयनको मूल आधारका रुपमा रहेका तीनवटै तहका निर्वाचन सम्पन्न गर्न योगदान दिने सबैलाई धन्यवाद दिएकी थिइन् । राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकलाई पहिलोपटक सम्बोधन गरेकी हुन्। संसद् बैठक कक्षमा पुगेकी राष्ट्रपतिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको प्रति हस्तान्तरण गरेका थिए।

राष्ट्रपतिलाई बग्गीमा राखेर संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र लगिएको थियो। राष्ट्रपतिले संसदमा सम्बोधन गर्दा उपराष्ट्रपति नन्दबहादुर पुन पनि उपस्थित थिए।

संघीय संसद भवनमा राष्ट्रपतिलाई प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे, राष्ट्रिय सभाका उपाध्यक्ष र संसद सचिवालयका महासचिवले स्वागत गरेका थिए।