काठमाडौँ – भारतको आसाम प्रदेशको क्रिकेट टोलीसँगको टी–२० क्रिकेट सिरिज नेपालको ‘ए’ टोलीले जितेको छ । कूल ५ खेलको सिरिजमा अन्तिम खेलमा सोमबार आसाममाथि ४४ रनको जित निकाल्दै नेपाल ‘ए’ले सिरिज ३–२ ले जितेको हो ।
भारतको गुवाहाटीस्थित एसीए रंगशाला, बरसापारामा सोमबार टस जितेर पहिले नेपालले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०८ रन बनायो । २०९ रनको विशाल चुनौती पच्छ्याउँदै मैदान उत्रिएको आसाम २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रनमै समेटिएको हो ।
नेपालको जितका लागि सन्दीप जोराले शानदार ब्याटिङ गरे । उनले ३९ बलमा ६४ रन बनाए । यस्तै शुभ कंशकारले २६ बलमा ४१ रन तथा इशान पाण्डेले २० बलमा ३२ रनको योगदान दिँदा मोहम्मद आदिल आलमले ११ बलमा २५ रन बनाए । बलिङतर्फ आलामका मालाकर र अविनभ चौधरीका नाममा समान २–२ विकेट रह्यो ।
जवाफी ब्याटिङमा आसामका सुमित घडिगोंकरले २५, शाहिल जैनले २३ र ऋषिकेश तामुलीले १७ जोडे । बलिङतर्फ आकाश चन्द, शेर मल्ल र पवन सर्राफले समान २–२, बासिर अहमद, मोहम्मद आदिल आलमले १–१ विकेट लिए ।
सिरिजको पहिलो खेलमा डीएलएस मेथडमा १५ रनले हारेको नेपालले दोस्रो खेलमा ९६ रनको जित निकालेको थियो । यस्तै तेस्रो खेलमा नेपालले ९ रनले तथा चौथो खेल आसामले १८ रनले जितेका थिए ।



























































