काठमाडौं– अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४, पातलेपोखरामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरी घरको भान्साकोठामा गाडेको घटनामा प्रहरीले श्रीमान् किरण गुरुङलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार प्युठान स्थायी घर भई विगत ८ वर्षदेखि पातलेपोखरामा बसोबास गर्दै आएका ३६ वर्षीय किरण गुरुङले आफ्नी ३४ वर्षीया श्रीमती सुमित्रा कुमाल गुरुङलाई बाँसको लाठी र हँसियाको पछाडिको भागले हानी हत्या गरेका थिए।
हत्या पछि गुरुङले श्रीमतीको शव कम्बलमा पोको पारी आफ्नै घरको भान्सामा खाल्डो खनी गाडेका थिए। शव कुहिएर दुर्गन्ध आउन थालेपछि छरछिमेक र सुमित्राको माइती पक्षले खोजतलास गर्दा घटना खुल्न आएको हो।
प्रहरी चौकी बल्कोटमा २०७९ भदौ १६ गते उजुरी परेपछि अनुसन्धानको क्रममा घटनास्थलमा पुग्दा शव भेटिएको प्रहरीले जनाएको छ। घटनापछि किरण गुरुङलाई सोही दिन पक्राउ गरी अनुसन्धान थालिएको छ।
अनुसन्धानमा खुल्न आएका तथ्यहरूः
किरण र सुमित्राको १० वर्षअघि प्रेम सम्बन्धमा आधारित दोस्रो विवाह भएको थियो। उनीहरूको ९ वर्षीया छोरी पनि छिन्।
किरणको पहिलो श्रीमतीबाट २ छोरी छन् भने सुमित्राको पहिलो श्रीमानबाट ३ छोरा छन्।
घटना राति करिब १२ बजे भएको र घटनाको बेला किरणले मादक पदार्थ सेवन गरेका थिए।
हत्या गर्न बाँसको लाठी, हँसिया, गैँची, बेल्चा र कोदालो प्रयोग गरिएको थियो।
घटनास्थलबाट प्रहरीले रक्सीका बोतलहरूसमेत बरामद गरेको छ।
प्रहरीले शवलाई उत्खनन गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाएको छ भने किरण गुरुङविरुद्ध ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।




























































