काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाको सेवा निवृत्तिको अवसरमा गृह मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रममा बिदाइ गरिएको छ।


ADVERTISEMENT


बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले थापालाई सफल कार्यकालको लागि बधाई दिँदै आगामी जीवनको लागि शुभकामना व्यक्त गरे।


ADVERTISEMENT

# # #


गृहमन्त्री लेखकले थापाको इमानदार, व्यावसायिक र समर्पित नेतृत्वको प्रशंसा गर्दै उहाँको सेवा निवृत्त पछिको व्यावसायिक जीवनमा उत्तरोत्तर प्रगतिको कामना गरे। उनले भने, ूथापाले राष्ट्रले दिएको जिम्मेवारी पूर्ण निष्ठाका साथ निर्वाह गर्नुभयो र आगामी दिनहरूमा पनि उहाँको योगदान राष्ट्रका लागि महत्त्वपूर्ण हुनेमा विश्वास लिएको छु।

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले पनि थापाको सफल नेतृत्वमा शान्ति, सुव्यवस्था तथा अमनचयन कायम गर्न सफल भएको उल्लेख गर्दै सेवा निवृत्त जीवन अझ स्वस्थ, रचनात्मक र क्रियाशील होस् भन्ने शुभकामना दिए।

बिदाइ समारोहमा प्रहरी महानिरीक्षक दीपक थापाले नेपाल प्रहरीमा सेवा गर्न पाएको अवसरलाई गौरवको विषय भन्दै आभार व्यक्त गरे। उनले आफ्नो कार्यकालमा संविधान र प्रचलित कानूनअनुसार जिम्मेवारी इमानदारीपूर्वक, पारदर्शिता र निष्पक्षताका साथ निर्वाह गरेको उल्लेख गरे। साथै, प्रहरी संगठनको आधुनिकीकरण, सुदृढिकरण र स्तरउन्नतिको कार्यमा गृह मन्त्रालय र नेपाल सरकारको मार्गनिर्देशन र सहयोगका लागि कृतज्ञता व्यक्त गरे।

कार्यक्रममा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, अनुसन्धान विभागका प्रमुख हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका उच्च अधिकारीहरू लगायतको उपस्थिति थियो।