काठमाडौं–चितवन भरतपुरस्थित ओएसिस मेडिकल कलेज तथा टिचिङ हस्पिटलले मापदण्ड नपुर्‍याई स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गरेको सम्बन्धमा स्वास्थ्य मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको छ ।


ADVERTISEMENT


पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएको भनिएको ओएसिसले नेपाल नर्सिङ काउन्सिलबाट भने मान्यता नलिई बीएस्सी नर्सिङ र बीएनको कक्षा सञ्चालन गरिरहेको छ । नेपाल नर्सिङ परिषद् ऐन २०५२ को दफा ९ अनुसार शिक्षण संस्थाले काउन्सिलबाट मान्यता लिएकै हुनुपर्छ । तर, कलेजले आवश्यक मापदण्ड पूरा नगरेको जनाउँदै काउन्सिलले मान्यता दिएको छैन ।


ADVERTISEMENT

# # #


सोही कारण कलेजबाट बीएस्सी नर्सिङ अध्ययन गरेका विद्यार्थीद्वय शोभा अर्याल र तनुजा श्रेष्ठलाई काउन्सिलले नाम दर्ता परीक्षा (लाइसेन्स)मा सहभागी नगराएपछि अन्य ब्याचमा अध्ययनरत विद्यार्थीको भविष्य अनिश्चित देखिएको छ ।

ओएसिसले अवैध रूपमा नर्सिङ अध्यापन गराइरहेको समाचार प्रकाशित भएपछि शिक्षा मन्त्रालयले छानबिन कार्य अघि बढाएको हो । मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमले थप कुरा बुझ्न आवश्यक भएकाले विश्वविद्यालयका उपकुलपति र नर्सिङ काउन्सिलका पदाधिकारीहरूलाई छलफलका लागि बोलाइने बताए । उनले भने, ‘उपकुलपतिसँग सम्पर्क हुन सकिरहेको छैन ।’

कलेजले मंगलबार प्रेस विज्ञप्ति जारी गरी नर्सिङ लाइसेन्स परीक्षामा सामेल नगराउनुले परिषद्को नियतमाथि गम्भीर प्रश्न खडा भएको जनाएको छ । मापदण्ड नपुर्‍याई कक्षा सञ्चालन गरेकोले विद्यार्थीद्वय अर्याल र श्रेष्ठलाई लाइसेन्स परीक्षामा सामेल नगराइएको काउन्सिलकी रजिस्टार लक्ष्मी राईले बताइन् ।

मान्यताप्राप्त नगरेका शैक्षिक संस्थामा अध्ययन गरेका विद्यार्थीलाई नाम दर्ता (लाइसेन्स) परीक्षामा सामेल गर्न नमिल्ने ठहर काउन्सिलको बोर्ड बैठकले गरेको थियो । कलेजमा दुई विद्यार्थीले बीएस्सी नर्सिङ उत्तीर्ण गरेका र ६९ जना विद्यार्थी अध्ययनरत छन् । – आजको अन्नपूर्ण पोस्टबाट