काठमाडौं–डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब युभेन्टसमाथि शानदार जित निकालेको छ । मंगलबार राति भएको पहिलो लेगमा युभेन्टसलाई ३–० ले हराउँदै रियलले शानदार जित निकालेको हो ।


ADVERTISEMENT


क्रिस्टियानो रोनाल्डोको उच्च प्रदर्शनमा रियलले साबिकको उपविजेता समेत रहेको युभेन्टसलाई उसैको मैदानमा हराएको हो । रियलको जितमा रोनाल्डोले दुई गोल गर्दा मार्सेलोले थप एक गोल गरे । क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स फुटबलको इतिहासमा आफ्नो निकै सुन्दर गोल गर्दै टिमलाई जित दिलाएका हुन् ।


ADVERTISEMENT

# # #


खेलमा रोनाल्डोले तेस्रो मिनेटमा नै गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा इटालियन क्लबले बराबरी गर्ने मौका बनाएको थियो । तर सफल हुन सकेन । यस्तै रियलका टोनी क्रुजले गोल गर्दै अग्रता दोब्बर बनाएने प्रयास गरेका थिए । तर उनको प्रहार क्रसबारमा लागेर फर्कियो ।

पहिलो हाफमा गोल गर्दै च्याम्पियन्स लिगका लगातार १० खेलमा गोल गर्ने कीर्तिमान बनाएका रोनाल्डोले दोस्रो हाफमा निकै सुन्दर गोल गरे । ६४ औँ मिनेटमा रोनाल्डोले सुन्दर बाइसाइकल गोल गरे ।

ड्यानी कार्वाहालले रोनाल्डोलाई क्रस दिए । रोनाल्डोले हावामा उडेर एरोबाटिक किक हान्दै युभेन्टसका जियानलुइजी बुफोनलाई छलेर बाइसाइकल गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

त्यसको दुई मिनेटपछि पाउलो डिबाला दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युभेन्टस १० खेलाडीमा सीमित भयो । ७२ औँ मिनेटमा मार्सेलोले गोल गरेपछि रियलले पहिलो लेगमा ३–० को जित निकाल्दै अन्तिम ४ को यात्रालाई केही सजिलो र धेरै सम्भावनायुक्त बनायो ।

युभेन्टसविरुद्ध दुई गोल गरेसँगै रोनाल्डोले च्याम्पियन्स लिगको पछिल्लो १० खेलमा लगातार गोल गर्ने पहिलो खेलाडी बनेका छन् । च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ताको सूचीमा रहेका ३३ बर्षीय रोनाल्डोले अहिलेसम्म ११९ गोल गरेका छन् । रोनाल्डोले सर्वाधिक गोलकर्ताको सुचिमा बार्सिलोनाका स्टार लियोनल मेस्सीमाथि १९ गोलको अग्रता कायम राखेको छ ।

पहिलो लेगमा फराकिलो जितसँगै रियलले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब दुई टोलीबीचको दोस्रो लेग अप्रिल १२ मा रियलको मैदानमा हुनेछ । रियललाई सेमिफाइनलमा पुग्न घरेलु मैदानमा हुने दोस्रो लेगमा बराबरी खेलेले पुग्नेछ । युभेन्टसलाई भने फराकिलो जित बाहेक अन्य विकल्प छैन ।