काठमाडौं–अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा रहेका कलाकार सिताराम कट्टेल धुर्मुसले बिहिबार बिहान खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मासँग छलफल गरे । छलफलमा मन्त्री विश्वकर्माले रंगशाला निर्माणको प्रस्ताव मागेका छन् ।


ADVERTISEMENT


‘मन्त्रीज्यूसँग एकदम सकारात्मक कुरा भयो, उहाँले प्रपोजल लिएर आउन भन्नुभएको छ,’ धुर्मुसले सुनाए । बेलुका उनी प्रपोजलका साथ फेरि भेट्न जानेछन् । उक्त भेटमा मन्त्रालयका उच्च पदाधिकारीहरु पनि सामेल हुनेछन् ।


ADVERTISEMENT

# # #


रुपन्देही, चितवन र हेटौंडामा सम्भावित जग्गाको अवलोकन गरेर बुधबार बेलुकी काठमाडौं फर्केका धुर्मुसले बिहीबार बिहानै खेलकुद मन्त्रीलाई फोन गर्दा मन्त्री विश्वकर्माले तुरुन्तै भेट्न आफ्नो क्वाटरमा बोलाएका थिए । भेटवार्ता एक घन्टासम्म चलेको थियो ।

भेटमा धुर्मुसले रंगशाला निर्माण अभियानका विषयमा औपचारिक जानकारी गराउँदै आफूले अवलोकन गरेर आएका विभिन्न जिल्लाका जग्गाहरुबारे बताए । ती बाहेक सरकारका नजरमा कुनै जग्गा छन् भने त्यसमा पनि विचार गर्न सकिने उनले प्रष्ट्याएका थिए ।

मन्त्री विश्वकर्माले जहाँ बनाए पनि छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए । उनले भने, ‘सरकार आफैले गर्नुपर्ने काममा तपाईंहरु अघि बढ्नुभएको छ, तपाईंहरुलाई सरकारको हरतरहले साथ र सहयोग रहन्छ । यसलाई कसरी छिटो अगाडि बढाउन सकिन्छ त्यतातिर लागौं ।’

धुर्मुसले आफ्नो ध्यान अहिले रंगशालाबाहेक अन्यत्र कतै नभएको बताए । शिलान्यास गरेको दिनमै उद्घाटनको मिति तोक्न तयार रहेको भन्दै उनले डेढदेखि दुई वर्षमै सम्पन्न गर्ने लक्ष्य लिएको पनि उल्लेख गरे । ‘तीन सिफ्टमा काम गराएर भए पनि छिटो निर्माण सम्पन्न गर्छौं,’ उनले भने ।