काठमाडौं– नेपाल औषधि लिमिटेडले सात वर्षपछि उत्पादन गरेको सिटामोल शुक्रबारबाट बजारमा आउने भएको छ । गत फागुन ९ गतेबाट विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार जीएमपी मोडलमा सिटामोल उत्पादन सुरु गरेको लिमिटेडले १० लाख सिटामोल शुक्रबारबाट बजारमा लैजान लागेको हो ।


ADVERTISEMENT


महाप्रबन्धक रोभसकुशम सुवेदीले भने, “अहिलेसम्म १० लाख सिटामोल उत्पादन भइसकेका छन् । करिब ५ लाख चक्की प्याकिङ भइसक्यो, ५ लाख चक्की मागअनुसार प्याकिङ हुने क्रममा छन् ।” लिमिटेडले शुक्रबार वीर अस्पताललाई करिब ५० हजार सिटामोल बिक्री गरेर बजारमा प्रवेश गर्ने भएको छ । आइतबारबाट देशैभर मागअनुसार औषधी पुर्याउने सुवेदीले बताए ।


ADVERTISEMENT

# # #


सिटामोलको खुद्रामूल्य प्रतिट्यावलेट १ रुपैयाँ तोकिएको छ । सरकारले पहिलो चरणमा ६ करोड ४८ लाख रकम विनियोजन गरेपछि औषधी लिमिटेडले पुनर्जीवन पाएको हो ।

पहिलो चरणमा उद्योगको ब्राण्डको रूपमा चिनिएको सिटामोल उत्पादन गरेको लिमिटेडले आगामी दिनहरुमा आइरन चक्की, जुकाको औषधीलागायत २० प्रकारका चक्की औषधी उत्पादन गर्ने लक्ष्य लिएको छ । कम्पनीले जिएमपी मापदण्डअनुसार नै गत वर्ष वैशाख २४ गतेदेखि जीवनजल उत्पादन गरिरहेको छ ।