काठमाडौं–बुद्ध जन्मस्थल लुम्बिनीमा ६ वटा सुरक्षा दस्तालाई चुनौती दिँदै मायाँदेवी मन्दिर परिसर भित्रै मानिसको अस्तु फेला परेको छ। मायादेवी मन्दिर परिसर भित्र खाल्डो खनी गाडेको अवस्थामा कपाल र बंगारा फेला परेको हो ।


ADVERTISEMENT


मानव अस्तु जस्तै देखिने ३२ थान ठूलो पोका, एक सय ८७ थान सानो पोका, कपालको जगल्टाको १४ पोकासहित एक मानव बंगारा फेला पारेको हो । यस घटनाले लुम्बिनी विकास कोष र सुरक्षा निकायको चरम लापरवाहीले लुम्बिनीमा गम्भीर सुरक्षा चुनौती उब्जिएको छ ।


ADVERTISEMENT

# # #


लुम्बिनी विकास कोषका अधिकृत चुरामणि भट्टराईले चैत १२ गते साँझ ५ बजेदेखि ६ बजेको समयमा मायाँदेवी मन्दिर परिसरमा खाडल खनेर गाडेको बताए । उक्त समयमा ४०–५० जनाको ताईवानी भिक्षुहरू आएको उनले स्रोतलाई जानकारी दिएका छन् ।

खाडल खनिएको स्थानमा बिहीबार खनेर हेर्दा केही पोकाहरूमा बालुवा, सिक्का, पत्थर तथा बंगारासमेत भेटिएकोले कुनै दिवंगत व्यक्तिको अस्तुधातु हुनसक्ने अनुमान गरिएको भट्टराईले बताए । विभिन्न सुरक्षा निकायका गरी साढे तीन सयभन्दा बढी सुरक्षाकर्मीको घेरा तोड्दै लुम्बिनीको सबैभन्दा महत्वपूर्ण स्थानको रूपमा रहेको मायादेवी मन्दिर परिसरमै यस्तो घटना हुनुले लुम्बिनीको सुरक्षामाथि प्रश्न चिन्ह उब्जिएको छ ।

लुम्बिनीको सुरक्षाका लागि १ सय ९७ जना सशस्त्र प्रहरी, ३३ जना दंगा प्रहरी, ७३ जना लुम्बिनी बिकास कोषका सुरक्षा गार्ड, ग्रुप फोरका १५ जना तथा ६ जना पर्यटन प्रहरी तैनाथ छन् । तर यी सबै सुरक्षालाई छल्दै मायाँदेवी मन्दिर परिसरमा खाडल खनेर मानव अस्तु गाडिँदासमेत लुम्बिनी विकास कोष बेखबर बन्नु रहस्यमय बनेको छ ।

अधिकृत भट्टराईले १२ गते अस्तु गाडिएपछि दुई चार दिनमै थाहा पाए पनि लुम्बिनीमा चलेको चैते पूर्णिमा मेलालाई प्रभाव पार्ने भएकोले बिहीबार मात्रै खाडल खनेर हेरिएको बताए । ‘अस्तु गाडिएको भन्ने केही दिन पहिले नै थाहा पाएका थियौं तर यति धेरै पोका छन् भन्ने लागेको थिएन,’ उनले स्रोतसँग भने ।

विकास कोषका सूचना अधिकृत हरी राईले बौद्धधर्ममा पवित्र स्थानमा कपाल तथा बंगारा गाडिएमा बुद्धत्व प्राँप्त गर्छन् भन्ने मान्यताका आधारमा गाडिएको हुनसक्ने बताए । अधिकृत भट्टराईले लुम्बिनी विकास कोषमा हुने राजनीतिक नियुक्तीका कारण कोष असुरक्षित र लथालिङ्ग भएको आरोपसमेत लगाए । मायाँदेवी मन्दिर परिसरमा सिसिटिभी क्यामेरा जडान गरिएको छ तर त्यसको सदुपयोग नहुँदा त्यो प्रभावविहीन भएको छ ।

मायादेवी मन्दिर परिसरमा कुनै पनि उत्खनन् वा निर्माण गर्नुपरेमा युनेस्को र लुम्बिनी विकास कोषसँग अनुमति लिनुपर्ने हुन्छ। तर, आधा मिटर गोलाई २० ईन्च गहिराई खाडल खनेर मानव अस्तु गाड्ने कार्य कोषका कर्मचारीकै आर्थिक चलखेलमा भएको हुनसक्ने एक कर्मचारीले बताए ।

लुम्बिनी बिकास कोषका वनस्पती अधिकृत सब्बिर मोहम्मद खानको डिजाईन र गार्ड कमाण्डर धन्नाराम श्रेष्ठ, दंगा नियन्त्रण गणका प्रहरी नायब निरीक्षक चन्दा थापा र प्रहरी सहायक निरीक्षक जीवा कुँवरको मिलोमतोमा उक्त कार्य भएको उनले दाबी गरे ।