काठमाडौं– सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका १६ बनस्थली चोकस्थित सडकमा हाल नम्बर नखुलेको टिपरले बा.४६ प ४६०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ललितपुर सातदोबाटो बस्ने ३१ वर्षीय मनिष केसीको मृत्यु भएको छ ।
गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पतालमा थप उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यसैगरी, सिराहाको नगरपालिका ३ मखनाहाचोकस्थित सडकमा माडरबाट सिराहातर्फ आउँदै गरेको बीआर ३२ एल ६८५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूषको मृत्यु भएको छ ।
सप्तरीको सुरूङ्गा नगरपालिका ५ स्थित सडकमा कुशाहाबाट कदमाहातर्फ आउँदै गरेको मधेश प्रदेश ०१-००५ प ५५११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका ९ परमानपुर बस्ने ३० वर्षीय अनिल कुमार चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिनिस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।



























































