काठमाडौं– विवेकशील साझा पार्टीले भारतको सफल राजकीय भ्रमणको लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली भ्रमणदलका सदस्यहरू प्रति बधाई ज्ञापन गरेको छ ।


ADVERTISEMENT


साझा विवेकशील पार्टीका प्रवक्ता सूर्यराज आचार्यले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपालको विकाश र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने कृषि, जलमार्ग एवं रेलमार्गका क्षेत्रमा सहयोग विस्तार गर्ने नेपाल–भारतबीचको समझदारीलाई आफ्नो पार्टीले स्वागत गर्ने उल्लेख गरेका छन् ।


ADVERTISEMENT

# # #


विज्ञप्तिमार्फत पार्टीले जलमार्ग र रेलमार्गका आयोजनाहरूको प्राविधिक र व्यवस्थापकीय पक्ष निर्क्यौल गर्दा नेपालको प्राथमिकता र राष्ट्रिय हितको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्णण गराएको छ ।

यस्तै भारत सरकारको सहयोगमा सञ्चालित पूर्वाधार विकासका आयोजनाको कार्यान्वयनमा बर्षौंको ढिलासुस्तीको तितो यथार्थको पृष्ठभूमिमा काठमाडौं–बिरगंज यातायात कोरिडरको रणनीतिक महत्त्वलाई आत्मसात् गर्दै प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गको प्राविधिक तयारी र कार्यान्वयनमा सतर्कताका साथ तदारुकता अपनाउन पनि पार्टीले आग्रह गरेको छ ।

साथै प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गका लागि दीर्घकालीन सोच सहित हाल विश्वमा प्रचलित आधुनिक रेल प्रविधि अपनाउने तर्फ पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।

स्वदेश फर्के पछिको प्रधानमन्त्रीको वक्तव्यमा उल्लेख भए अनुसार नै यो भ्रमणले नेपाल–भारत सम्बन्धलाई समानताको आधारमा सौहार्दता र पारस्पारिक विश्वासको नयाँ उचाइमा पुर्याएको पार्टीले ठानेको पनि वक्तब्यमा उल्लेख छ ।