भक्तपुर – भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा भोलिबाट सुरू हुँदैछ । जात्रालाई शान्तिपूर्ण रुपमा मनाउने सन्देश प्रवाह गर्न सोमबार बिहान विशाल सद्भाव एवं शान्ति र्‍याली प्रदर्शन गरिएको छ ।


ADVERTISEMENT


भोलि २८ गते तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर शुरु हुनेछ र वैशाख ५ गते गहिटी पुर्‍याएर सम्पन्न हुनेछ ।


ADVERTISEMENT

# # #


बिस्केट जात्राको मुख्य गरी भैरवको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच विगतमा जस्ते ढुङ्गा हान्ने र झगडा गर्ने कार्य हुन नदिन जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा र्‍याली निकालिएको छ ।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले ऐतिहासिक एवं सांस्कृतिक महत्वको जात्रालाई शान्तिपूर्ण रुपमा मनाउनु पर्ने र ढुङ्गा हान्नेलाई प्रशासनले कुनै हालतमा नछाड्ने बताए ।

उनका अनुसार जात्रालाई शान्ति पूर्ण बनाउन ३४ स्थानमा सिसी क्यामरा जडान गरेर निगरानी गरिनेछ भने जात्रामा एक हजार ३०० भन्दा बढी सुरक्षाकर्मी खटाइनेछ ।

यस्तै मदिरा बिक्री वितरणमा रोक लगाइने र झगडा गर्ने एवं ढुङ्गा हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही गरिने उनले बताए ।

बिस्केट जात्राको सम्पूर्ण तयारी पूरा भएको गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए ।