काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधी भएको बताएका छन् ।  भक्तपुरमा नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक/हुद्या क्याडेट तालिमको आयुक्तलाई पदका प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले आतंककारी गतिविधीले शान्ति सुरक्षा,अर्थतन्त्र र सामाजिक एकतामा प्रत्यक्ष आघात पार्ने पनि बताए । ‘देशभित्र हिंसात्मक गतिविधीमा क्रियाशिल अतिवादी तत्वहरु,अन्तर्राष्ट्रिय आतंककारी गतिविधीको चुनौतीहरु साथै क्षेत्रीय र जातीय विद्वेषमा आधारित द्वन्द्वहरु अहिलेका वास्तविक खतरा हुन्’ प्रधानमन्त्री ओलीले भने ‘यस प्रकारका खतरा वरुद्ध हाम्रा सुरक्षा निकाय सदैव तयार हुनु पर्दछ ।’
प्रधानमन्त्री ओलीले २१ औं शताब्दीको अर्को महत्वपूर्ण चुनौती साइबर सुरक्षा भएको बताए । ‘यो प्रत्यक्ष हमला भन्दा पनि कारगार हुन्छ । राष्ट्रिय सुरक्षाका विविध आयामका बारेमा जानकार रही साइबर सुरक्षाको विश्वसनीय योजना सहित सुरक्षा निकायहरु बिच असरदार समन्वय बनाउन जरुरी छ’ प्रम ओलीको भनाई थियो ।
प्रधानमन्त्री ओलीले लामो अस्थिरतापछि देश स्थायित्वतर्फ अग्रसर भएको पनि बताए । ‘हामी अहिले तुलनात्मक रुपमा स्थिर र शान्तीपूर्ण अवस्थामा छौं, तर हामी सधैं भविष्यमा उत्पन्न हुन सक्ने खतराका बारेमा सतर्क रहनु जरुरी छ’ ओलीको भनाई छ ।
प्रधानमन्त्री ओलीले नेपाली सेनाले राष्ट्र निर्माणका लागि नेपाली जनतासँग काँधमा काँध मिलाउदै आएकोमा प्रशंशा गरेका थिए ।