एजेन्सी – भारतको लद्दाखमा जेन–जी पुस्ता सकारविरुद्ध प्रदर्शनमा आएका छन् । लद्दाखलाई पूर्ण राज्यको दर्जा र छैटौं अनुसूची अन्तर्गत समावेश गर्न माग गर्दै जेन–जी युवाहरु बुधबार लेमा बन्द र विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनकारी र स्थानीय सुरक्षाकर्मीबीच झडप समेत भएको छ भने प्रदर्शनकारीले भाजपाको कार्यालयमा आगजनीसमेत गरेको भारतीय सञ्चामाध्यम दि इण्डियन एक्सप्रेसले जनाएको छ । एक्सप्रेसका अनुसार प्रदर्शन हिंसात्मक भएपछि जलवायु कार्यकर्ता सोनम वाङचुकले आफ्नो १५ दिने अनशन अन्त्य गरेका छन् । साथै उनले समर्थकहरूलाई अशान्ति नबढाउन आग्रह गरेका छन् ।
यसअघि युवाहरूको एक समूहले ढुङ्गा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रहार र लाठीचार्ज गरेका थियो । आन्दोलनले लामो समयदेखि विचाराधीन मागहरूमा वार्ता अगाडि बढाउन केन्द्रलाई दबाब दिन पनि खोजे जनाइएको छ ।
…त्यसपछि सक्कियो प्रदर्शनको आगो
लद्दाखमा १५ जना अभियन्ता सेप्टेम्बर १० देखि ३५ दिनको अनशनमा रहेका थिए । जसमध्ये दुई जनाकोई स्वास्थ्य बिग्रँदै गएपछि मंगलबार साँझ अस्पताल सारिएको थियो । जसको विरोधमा लेह एपेक्स बडी (एलएबी)को युवा शाखाले विरोध र बन्दको आह्वान गरेको थियो।
जलवायु कार्यकर्ता सोनम वाङचुकको नेतृत्वमा गरिएको भोक हडतालले यस क्षेत्रमा आन्दोलन ठूलो रुप दिइरहेको छ ।
के छन् माग ?
प्रदर्शनकारीले विशेष गरी ४ माग राखेको भारतीय सञ्चार माध्यम आजतकले जनाएको छ । जसअनुसार पहिलो लद्दाखलाई पूर्ण राज्यको दर्जा दिइनुपर्ने, लद्दाखलाई भारतीय संविधानको छैटौँ अनुसूचीमा समावेश गरिनुपर्ने उनीहरुको माग छ ।
यस्तै लद्दाखका लागि दुई लोकसभा सिट दिइनुपर्ने उनीहरुको माग रहेको छ भने लद्दाखमा रहेका जनजाती समुदायलाई आदीवासीको दर्जा दिनुपर्ने समेत माग गरेका छन् ।
भारतको संविधानको धारा ३७० खारेज गरेपछि र जम्मू कश्मीर पुनर्गठन ऐन, २०१९ लागू भएदेखि, लद्दाखको राजनीतिक र कानुनी स्थिति विवादास्पद रहेको छ।
विभाजनले जम्मू कश्मीरमा विधायिकासहित र लद्दाखमा व्यवस्थापिका बिनाको दुई केन्द्र शासित राज्यहरू सिर्जना गरेका थियो । जसले लद्दाखलाई प्रत्यक्ष रूपमा केन्द्रीय प्रशासनको अधीनमा राखेको थियो ।
त्यसयता लद्दामा असन्तुष्टिका स्वर तीव्र हुँदै गएका छन् ।



























































