हेटौंडा – बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिपक रेग्मीले मातहतका प्रहरी कार्यालय प्रमुखहरूसँग आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यसम्पादन सम्झौता गरेका छन् ।

संगठन प्रमुख प्रहरी महानिरीक्षक दानबहादुर कार्की र बागमती प्रदेश प्रहरी प्रमुख रेग्मीबीच भएको कार्यसम्पादन करारअनुसार प्रदेश प्रहरी कार्यालय हेटौंडामा आयोजित कार्यक्रममा मातहतका प्रहरी प्रमुखहरूसँग भौतिक उपस्थितिमै वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरिएको हो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

कार्यक्रममा प्रदेश प्रहरी प्रवक्ताले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यसम्पादन सम्झौताअन्तर्गत शान्ति सुरक्षा, प्रहरी कार्य, प्रशासनिक गतिविधि तथा अपराध अनुसन्धानको प्रगति समीक्षा गरिएको थियो ।

समीक्षाअनुसार शान्ति सुरक्षा तथा प्रहरी कार्यतर्फ एलआरपीमा १५ प्रतिशत वृद्धि भएको छ । सवारी दुर्घटना तथा मानवीय क्षति १० प्रतिशतले घटाउने लक्ष्य राखिएकोमा सवारी दुर्घटना १७ दशमलव २९ प्रतिशत र मानवीय क्षति १०.५८ प्रतिशतले कमी आएको प्रहरीले जनाएको छ ।

त्यस्तै, दंगा नियन्त्रणलाई प्रभावकारी बनाउन जिल्ला तहसम्म २३१ पटक नियमित अभ्यास सञ्चालन गरिएको थियो । अपराध अनुसन्धानतर्फ दर्ता कसुरसँग सम्बन्धित ५ हजार ७८४ अभियुक्त तथा शंकास्पदमध्ये ८६ प्रतिशत पक्राउ गरिएको जनाइएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

चोरी तथा डाँका सम्बन्धी कसुरमा ९६ दशमलव ३६ प्रतिशत फर्स्यौट भएको तथा पेण्डिङमा रहेका जघन्य तथा गम्भीर प्रकृतिका कसुरमा २० प्रतिशत फर्स्यौट गर्ने लक्ष्य राखिएकोमा २४ दशमलव ०४ प्रतिशत कसुर फर्स्यौट गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी, फैसला कार्यान्वयनतर्फ २० प्रतिशत पक्राउ गर्ने लक्ष्य राखिएकोमा ३९ दशमलव ३० प्रतिशत अर्थात् २ हजार २४२ जना पक्राउ गरिएको समीक्षा कार्यक्रममा जानकारी दिइएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

चालु आर्थिक वर्ष २०८३/०८४ का लागि बागमती प्रदेशअन्तर्गत १५ वटा प्रहरी कार्यालय तथा इकाइका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरिएको छ । सम्झौता गरिएका कार्यालयमा बागमती प्रदेश प्रहरी तालिम केन्द्र, जिल्ला प्रहरी कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बागमती प्रदेश प्रहरी गण हेटौंडा, बागमती प्रदेश प्रहरी अस्पताल, बागमती प्रदेश प्रहरी विद्यालय शान्तिपुर र बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौंडा रहेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्झौताअन्तर्गत तालिम केन्द्रका लागि २१, जिल्ला प्रहरी कार्यालयका लागि ५२, ट्राफिक कार्यालयका लागि २०, प्रहरी गणका लागि १७, प्रहरी अस्पतालका लागि १८, प्रहरी विद्यालयका लागि १७ तथा विपद् व्यवस्थापन गुल्मका लागि १२ वटा वार्षिक कार्यसम्पादन क्रियाकलाप निर्धारण गरिएको छ ।

कार्यक्रममा मातहतका प्रहरी प्रमुखहरूले वार्षिक कार्यसम्पादन सम्झौतासम्बन्धी प्रस्तुति दिएका थिए । सो अवसरमा प्रदेश प्रहरी प्रमुख रेग्मीले सम्झौताअनुसारका कार्यसम्पादन लक्ष्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिए ।

रेग्मीले चाडपर्वलाई लक्षित गरी प्रभावकारी सुरक्षा योजना निर्माण तथा प्रहरी परिचालन गर्न, विपद्को पूर्वतयारीलाई मजबुत बनाउन तथा खोज तथा उद्धारका कार्यमा प्रहरीलाई तदारुकताका साथ परिचालन गर्नसमेत निर्देशन दिइएको छ ।