काठमाडौं–विदेश भ्रमण नगर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन लत्याउँदै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकहरू विदेश भ्रमण गइरहेका छन् ।


ADVERTISEMENT


नार्क स्रोतका अनुसार फागुन र चैतमा गरी करिब तीन दर्जन कृषि वैज्ञानिकले विदेश भ्रमण गरेका छन् । यसबाहेक करिब एक दर्जन प्राविधिक (राजपत्रअनंकित) कृषि अनुसन्धानका नाममा विदेश भ्रमणमा गएका छन् । थप दर्जनजति कृषि वैज्ञानिक वैशाखमा विदेश भ्रमणमा जाने कार्यक्रम तय भएको छ ।


ADVERTISEMENT

# # #


नार्कका कार्यकारी निर्देशक डा. वैद्यनाथ महतो एक साताका लागि भन्दै बुधबार मोरक्कोतिर उडेका छन् । उनले टेकबहादुर गुरुङलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका छन् । उनले गुरूङलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको पत्रमा आफू काम विशेषले काठमाडौं बाहिर जानुपर्ने भएको लेखेका छन् । तर पत्रमा भ्रमण कार्यालय प्रयोजनका लागि हो या व्यक्तितगत प्रयोजनका लागि हो भन्ने खुलाइएको छैन । तर स्रोतका अनुसार उनी कार्यालय प्रयोजनका लागि मोरक्को गएका हुन् ।

कृषि वैज्ञानिक तथा प्राविधिक सबै कृषि अनुसन्धानका नाममा धमाधम विदेश जाने गरेका छन्। ती भ्रमण कति फलदायी भए भन्ने मूल्यांकन भने हुन सकेको छैन ।

फागुन र चैतमा विदेश भ्रमण गर्ने वैज्ञानिकहरूमा लुमा पाण्डे, कमल साह, सुध सापकोटा, रेणुका श्रेष्ठ, शुक्रराज श्रेष्ठ, ध्रुवबहादुर थापा, शेषराम उपाध्याय, सुरज बैद्य, मनोज साह, टेकबहादुर गुरूङ, आनन्द गौतम, घनश्याम मल्ल, रामप्रसाद घिमिरे, प्रमिल केसी, मनीषकुमार ठाकुर, अमृत पौडेल, भोजन खनाललगायत छन् ।